रौतहटको पोखरीमा भारतीय नागरिकको शव फेला
३१ असार, रौतहट। रौतहटको ईशनाथ नगरपालिकाको एक पोखरीमा हाम फालेका युवकको मृत्यु भएको छ ।
इशनाथ नगरपालिकाको वडा नं. ४ ठूलो लतममरी स्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा मंगलवार राति एक पुरुष हाम फाल्दा बेपता भएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलवार राति ९.३० बजेको समयमा पोखरीमा एक व्यक्ति हाम फालेको सूचना आएपछि प्रहरीले राति नै उनको खोजतलाश समेत गरेको थियो ।
“अन्दाजी २५–३० वर्षीय पुरुष पोखरीमा हाम फालेको भन्ने सूचना आएपछि हिजो नै मठिया प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजतलास सुरु गरेको थियो ।” जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नायब उपरिक्षक बसन्त गौतमले भने “आज बिहान करिब ९ः४५ बजे खोजीका क्रममा सोही पोखरीबाट युवकको शव फेला परेको छ ।”
मृतक युवक भारतीय नागरिक रहेको उनले बताए । मृतकका दाजु जहिर अहमदले शवको सनाखत गर्दै मृतक भारतको बिहार राज्य, मोतिहारी जिल्ला, ढाका ग्राम पञ्चायत – ३० निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिर रहेको बताएका छन ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरी नायब उपरिक्षक गौतलले बताए ।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






