रौतहटमा शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा युवक घाइते, काठमाडौं रिफर

   ३१ असार २०८३, बुधबार १५:२८  

३१ असार, रौतहट । रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन ।

गरुडा नगरपालिका वडा नं. ९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतम कुमार सहनीले गए राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनापछि उनलाई तत्काल उनलाई गरुडामा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नायब उपरिक्षक बसन्त गौतमका अनुसार घाइतेको घाँटी देखि तल सम्म करिब ३१ प्रतिशत शरीर जलेको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइते सहनीलाइ थप उपचारका लागि उनलाई कीर्तिपुर बर्न अस्पताल, काठमाडौं रिफर गरिएको नायब उपरिक्षक गौतमले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा परिवारका सदस्यहरूले सहनीले मानसिक स्वास्थ्य सम्बन्धी औषधि सेवन गर्दै आएको र घटनाको समयमा मादक पदार्थ सेवन गरेको हुन सक्ने बताएका छन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।