राष्ट्रपति ट्रम्प अस्पतालबाट ह्‍वाइट हाउस फर्किए

   २० आश्विन २०७७, मंगलवार ११:२४  

२० असोज, रौतहट। तीन रातको हस्पिटल बसाइपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि मेरिल्यान्डस्थित वाल्टर रीड मिलिट्री हस्पिटल भर्ना भएका ट्रम्प सोमबार साँझ ह्वाइट हाउस फर्किएका हुन् । ट्रम्प चाँडै नै चुनावी प्रचारमा सहभागी हुने अपेक्षा गरिएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पका चिकित्सक डाक्टर सिन कोन्लेले ट्रम्पको स्वास्थ्य अवस्थामा सुधार आएको बताएका थिए । चिकित्सकहरुले ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर फर्किनका लागि भने सुरक्षित रहेको बताएका थिए । राष्ट्रपति ट्रम्प अब राष्ट्रपति निवास ह्वाइट हाउसमै चिकित्सकीय निगरानीमा रहनेछन् ।

डा. सिन कोन्लीले ट्रम्प संक्रमित भएपछि दुईपटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको जनाएका छन् । डेक्सामेथासोनले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ । यसअघि बेलायतमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमणका कारण गम्भीर रूपमा बिरामी परेकाहरूको उपचारमा यसले प्रभावकारी भूमिका खेलेको दाबी गरिएको थियो ।

यो औषधिले शरीरको प्रतिरक्षा प्रणालीलाई ओसिलो बनाउने काम गर्छ । कोरोना भाइरसको संक्रमणसँग लड्ने क्रममा शरीरमा जलन उत्पन्न हुने गर्छ । तर कहिलेकाहीं प्रतिरक्षा प्रणाली अत्यधिक सक्रिय हुने भएकाले त्यो घातकसिद्ध हुन सक्छ ।

संक्रमणसँग जुध्नका लागि बनेका प्रतिरक्षा प्रणालीले नै शरीरका कोषलाई आक्रमण गरिदिन्छ । त्यस्तो अवस्थामा डेक्सामेथासोनले प्रभावलाई न्यूनीकरण गर्ने जनाइएको छ ।

यो अस्पतालमा भर्ना गरिएका र अक्सिजन अनि भेन्टिलेटरको सहायता लिइरहेकाहरूका लागि मात्रै उपयुक्त हुने बताइएको छ । सामान्य लक्षण देखिएका संक्रमितको हकमा भने यो औषधि प्रभावकारी नहुने जनाइएको छ ।

अस्पतालबाट निस्कनुअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘छिट्टै नै चुनावी प्रचार सुरु गर्नेछु । ‘फेक’ न्युजले केवल ‘फेक’ सर्वेक्षण देखाइरहेका छन् ।’ त्यसअघि पनि डोनाल्ड ट्रम्लिे ट्वीट गर्दै सोमबार साँझ अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए ।

चिकित्सकहरुले पत्रकार सम्मेलन गरी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिनुपूर्व नै ट्रम्पले ट्वीट गर्दै ‘२० वर्ष पहिलेभन्दा अहिले स्वस्थ महसुस’ गरेको बताएका थिए । साथै कोरोना भाइरसबाट डराउनुनपर्ने बताउँदै यसलाई आफ्नो जीवनमा हाबी हुन नदिन पनि अपिल गरेका थिए ।

ह्वाइट हाउसबाट निस्कँदै गर्दा ट्रम्पले सेतो सर्जिकल मास्क लगाएका थिए भने हस्पिटलबाहिर रहेका शुभेच्छुक र पत्रकारलाई हात हल्लाउँदै हेलिकप्टर भएकोतर्फ अघि बढेका थिए । मेरिल्यान्डस्थित ह्वाइट हाउस साउथ पोर्टिको भवनको बरन्डामा गएर उनले मास्क खोलेर सलामी ग्रहण गरेका थिए ।