२०२० नोबेल पुरस्कार घोषणा सोमबार देखि शुरु
१९ असोज, रौतहट । नोबेल पुरस्कार सन् २०२० को घोषणा सोमबारदेखि शुरु हुँदैछ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ ।
कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ ।
कोरोनाभाइरस महामारीका कारण यसवर्ष चिकित्सा विज्ञानतर्फको पुरस्कारले विशेष महत्व राख्नेछ । तर नयाँ भाइरसका बारेको अनुसन्धानका लागि यसवर्ष प्रत्यक्ष कसैले पुरस्कार प्राप्त गर्ने सम्भावना क्षीण छ ।
सामान्यतया नोबेल एसेम्ब्लीले वर्षौंदेखिको अनुसन्धानबाट तथ्य पुष्टि भएका आधारभूत विज्ञानका क्षेत्रलाई मात्र मान्यता दिने गरेको छ । गत वर्ष, बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरु विलियम काइलिन र ग्रेग सेमेन्जालाई शरीरका कोषको प्रतिक्रियाका बारेमा अनुसन्धान गरेबापत संयुक्तरुपमा पुरस्कार दिइएको थियो ।
नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् ।
चिकित्सा बाहेक अन्य पुरस्कारहरु भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइन्छ ।
एजेन्सी