लागुऔषधमा शाहरुख र अर्जुन रामपालको नाम पनि चर्चामा
१६ असोज, रौतहट । बलिउड लागुऔषध दुर्व्यसनी तथा ओसारपसार सम्बन्धी छानविनमा अभिनेता शाहरुख खान र अर्जुन रामपालको नाम चर्चामा आएको छ। यी दुबै अभिनेताको ड्रग्स सेवनमा कनेक्सन देखिएको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)लाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएका छन्।
एनसीबीको सोधपुछमा लागुऔषध तस्करले शाहरुख खान,अर्जुन रामपाल र डिनो मोरियाको नाम लिएको दैनिक भास्करले एक्सक्लुसिभ भन्दै लेखेको छ। अर्जुनले शाहरुखलाई ड्रग्स सप्लाई गर्ने गरेको पनि उल्लेख छ। यसअघि अभिनेत्रीहरु दीपिका पादुकोण, रकुलप्रीत सिंह, श्रद्धा कपुर र सारा अली खान एनसीबीको छानविनमा तानिसकेका छन्।
अब अभिनेताहरुको नाम पनि मिडियामार्फत चर्चामा आएको हो।
दिल्लीमा कार्यरत एनसीबीका एक अधिकारीलाई स्रोतका रुपमा उद्धृत गर्दै छानविनमा देखिएको ए, डी र एस कोडको पुरा नाम अर्जुन रामपाल, डिनो मोरिया र शाहरुख खान भएको समाचारमा उल्लेख छ।
यद्यपि एनसीबीले आधिकारिक रुपमा केही भनेको छैन। कलाकारहरुबाट पनि कुनै प्रतिक्रिया आएको छैन।
कोलकाता नाइटराइडर्सका मालिक शाहरुख आइपीएल हेर्न दुबईमा छन् भने अर्जुन रामपाल मुम्बईमै एक फिल्मको शुटिङमा व्यस्त छन्। डिनो मोरिया पनि मुम्बईमै छन्।