भारतको उत्तरप्रदेशमा सामूहिक बलात्कारमा परेकी युवतीको मृत्यु

   १३ आश्विन २०७७, मंगलवार १७:२०  

१३ असोज, रौतहट । भारतको उत्तरप्रदेश हाथरसमा दुई साताअघि सामूहिक बलात्कृत भएकी एक दलित युवतीको मृत्यु भएको छ । दिल्लीको सफदरजंग अस्पतालमा उपचारार्थ १९ वर्षीया ती युवतीको मंगलबार बिहान मृत्यु भएको हो ।

घटना दिल्लीबाट करिब दुई सय किलोमिटर टाढा उत्तरप्रदेशको हाथरस गाउँको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा १४ सेप्टेम्बरमा गाउँकै कथित उच्च जातका पुरुषहरुले परिवारका अन्य सदस्यसँगै घाँस काट्न गएका बेला ती युवतीमाथि सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि उनको ज्रिबो काटिनुका साथै घाँटीमा पनि प्रहार गरिएको थियो ।

गम्भीर घाइते ती महिलालाई पहिले अलिगढस्थित अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बनेपछि उनलाई सोमबार मात्र दिल्लीको सफदरजंग अस्पताल सारिएको थियो ।

प्रहरीले घटना संलग्नमा चार जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । प्रहरीले उनीहरुमाथि सामूहिक बलात्कार र हत्याको मुद्दा लगाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृतकको परिवार र आरोपितका परिवारबीच लामो समयदेखि रिसइबी थियो । र, उनीहरुलगायतका गाउँका अन्य दलित परिवारमाथि जातीय भेदभाव र दुव्र्यवहार हुँदै आएको थियो ।

घटनालाई लिएर उत्तरप्रदेश सरकारको चर्को आलोचना गरिएको छ । विपक्षी भारतीय राष्ट्रिय कंग्रेसकी नेता प्रियंका गान्धीले राज्यमा सुरक्षा व्यवस्था कमजोर बन्दै गएका कारण महिलाहरुमाथि एकपछि अर्को गर्दै बलात्कार घटनाहरु भएको भन्दै मुख्यमन्त्री योगी आदित्यनाथको चर्को आलोचना गरेकी छिन् ।

साथै उनले दोषीलाई कडाभन्दा कडा सजायको समेत माग गरेकी छिन् । ‘यूपीमा कानुन व्यवस्था निकै नै खराब भइसकेको छ । महिलाहरुको सुरक्षा रत्तिभर छैन । अपराधी खुलेआम हिँडिरहेका छन् । हत्याराले कडाभन्दा कडा सजाय पाउनुपर्छ । उत्तरप्रदेशको महिलाहरुको सुरक्षाप्रति तपाई जिम्मेवार हुनुहुन्छ रु,’ गान्धीले मुख्यमन्त्री योगीलाई लक्षित गर्दै ट्विटरमा लेखेकी छिन् ।

केही महिनायता उत्तरप्रदेशमा बलात्कारका घटना उल्लेख्य संख्यामा बढेको देखिन्छ । अघिल्लो सातामात्र मेरठबाट दिल्ली जान लागेकी एक महिलाको बसभित्रै सामूहिक बलात्कार भएको थियो । भारतको अपराध अनुसन्धान ब्यूरोले केही महिनाअघि सार्वजनिक गरेको तथ्याकंले पनि विगत सन् २०१६ देखि २०१९ को अवधिमा उत्तरप्रदेशमा महिलाविरुद्धको हिंसामा २० प्रतिशतले वृद्धि भएको देखाएको थियो ।