इतिहास: आजकै दिनमा अमेरिकामा शक्तिशाली तुफानले लिए थियो, ७ सयभन्दा धेरैको ज्यान
५ असोज, रौतहट । आज २१ सेप्टेम्बर । सन् १९३८ मा आएको ‘द ग्रेट हरीकेन’ नामक शक्तिशाली तुफानले अमेरिकामा ७ सयभन्दा धेरैको ज्यान लियो । यस घटनामा हजारौँ मानिस घाइते भए । यस तुफानको तिव्रता १ सय २० माइल्स प्रतिघण्टाभन्दा पनि धेरै थियो । राति क्यानडा पुगेपछि मात्रै यो तुफान समाप्त भयो ।
तुफानको प्रभाव न्युर्योक राज्यस्थित लङ आइल्यान्ड, न्यु इङल्यान्ड र क्यानेडाको क्युवेकमा धेरै प¥यो । तत्कालीन समय पूर्व सतर्ककताको जानकारी दिने प्रविधि विकास भइसकेको थिएन । त्यसैले लङ आइल्यान्डका मानिसहरुले सुरक्षित हुने मौका नै पाएनन् ।
२० हजारभन्दा धेरै बिजुलीका खम्बाहरु ढल्दा बिजुलीको आपुर्ती रोकियो भने रेलमार्गसमेत प्रभावित भयो । अमेरिकी सरकारका अनुसार यस तुफानका कारण ९ हजारभन्दा धेरै भवनहरुमा पूर्ण रुपमा क्षति पुगेको थियो । त्यस्तै १५ हजारभन्दा धेरै भवनमा आंशिक क्षति पुग्यो । स्थानीय स्तरमा ठूलो संख्यामा कटेज र गोठहरु ढले । उत्तरपूर्वका जंगलमा धेरै रुखहरु ढले । न्यु इङ्ल्यान्डको कुल जंगल क्षेत्रमध्ये ३५ प्रतिशतमा असर प¥यो ।
त्यस्तै ३ हजारभन्दा धेरै जहाज पानीमै डुबेका थिए । १० सेप्टेम्बरमा केप वर्डे टापूबाट यस तुफान सुरु भएको थियो । त्यसपछि ब्राजिल पुगेको तुफानले १९ सेप्टेम्बरमा अचानक आफ्नो दिशा बदल्यो । पूर्वी तट हुँदै अघि बढेको तुफान एक्कासी उत्तरतर्फ सोझिएपछि अमेरिकामा अत्याधिक विध्वंश निम्तिएको थियो । घटनामा झन्डै ३ सय ८ मिलियन अमेरिकी डलर बराबर क्षति भयो ।
एक अध्ययनअनुसार यसको मुल्याङ्कन २०१६ मा झन्डै ५ दशमलव १ बिलियन डलर बराबर हुन आउँछ । यो अमेरिकी मेनल्यान्डमा निम्त्यिाएको अहिलेसम्मकै ठूला तुफानमध्ये एक हो ।