चीनले बनायो प्रयोगयोग्य अन्तरिक्ष यान

   २२ भाद्र २०७७, सोमबार १०:५९  

२२ भदौ, रौतहट । चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो महत्त्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ ।

उक्त यान गत शुक्रबार जिक्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो । तर गोप्य रूपमा विकास गरिएको यस अभियानबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले एक अधिकारीको भनाइ उद्धृत गर्दै उक्त यान जिक्वान अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ । तर यानको आकार तथा बनोटबारे भने केही उल्लेख गरिएको छैन ।

सिन्ह्वाले यस अभियानलाई चीनको अन्तरिक्ष यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुंगा हासिल भएको जनाएको छ । चीनले यसअघि सन् २००३ मा पहिलोपटक मानिसलाई अन्तरिक्षमा पठाएको थियो ।

गत वर्ष चीनले चन्द्रमाको सबैभन्दा टाढाको स्थानमा एक रोबोट अवतरण गराएको थियो । अर्को यस्तै खोज रोबोट चीनले हालै मंगल ग्रहमा पठाएको छ । अमेरिका र रुसले मात्र हालसम्म पुनः प्रयोगयोग्य अन्तरिक्ष यान निर्माण गर्ने सफलता प्राप्त गरेका छन् ।