एकैदिन भारतमा थपिए करिब २० हजार कोरोना संक्रमित
१४ असार, रौतहट । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् ।
यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८५९ पुगेको छ । भारतमा लगातार नवौं दिन कोरोनाका १४ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरस (कोभिड–१९०) बाट मृत्यु हुनेको संख्या पनि १६ हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण १६ हजार ९५ जनाको मृत्यु भइसकेको छ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ५९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात हजार २७३ जनाको मृत्यु भइसकेको छ ।
दिल्लीमा ८० हजारभन्दा धेरै संक्रमित भेटिँदा दुई हजार ५५८ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै तामिलनाडुमा पनि ७८ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार २५ जनाको मृत्यु भइसकेको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म २१ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ६४९ जनाको मृत्यु भइसकेको छ ।
पश्चिम बंगालमा पनि अहिलेसम्म १६ हजारभन्दा धेरै संक्रमित देखिएका छन् भने ६२९ जनाको मृत्यु भइसकेको छ ।
बिहारमा पनि करिब नौ हजार संक्रमित भेटिँदा ५९ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख नौ हजार ७१३ संक्रमित निको भइसकेका छन् ।






