परीक्षण टुंगो नलाग्दै खोप किन्‍ने :होड

   ११ भाद्र २०७७, बिहीबार १२:०१  

भदौं ११,रौतहट ।  विश्वभरका वैज्ञानिकहरू यतिखेर कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप विकासमा जुटिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हाल १ सय ७० भन्दा बढी वैज्ञानिकहरूको समूह खोप विकासमा जुटेको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय सहित ७ समूह अहिले तेस्रो चरणको परीक्षणमा व्यस्त छन् । तेस्रो चरणमा हजारौं जनालाई खोप दिएर यसको प्रभावकारिता, साइड इफेक्टस् अनि मानवमा सुरक्षित भएरनभएको जाँचिन्छ ।

कुनै पनि खोप विकास गर्न वैज्ञानिकलाई वर्षौं लाग्ने भए पनि कोभिड–१९ को खोप एकदेखि डेढ वर्षभित्रै विकास गर्न विश्वका वैज्ञानिक क्रियाशील छन् । अनुसन्धान जारी रहँदा विश्वका कतिपय मुलुकले भने अहिले नै खोप खरिदको सम्झौता गरिसकेका छन् । बेलायत सरकारले सम्भाव्य खोपका ३४ करोड डोज लिने सम्झौता गरिसकेको छ ।

बेलायतले हालसम्म अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँग मिलेर विकास गरिरहेको खोप १० करोड, फर्मास्युटिकल जाइन्ट ‘बायोएनटेक’ र फाइजर तथा भल्नेभासँग ९ करोड डोज, जोन्सन एन्ड जोन्सनको स्वामित्व रहेको बेल्जियन फर्मास्युटिकल कम्पनी जेनसिन र अमेरिकी बायोटेक कम्पनी नोभाभ्याक्सको ९ करोड डोज र जीएसके र सानोफी पास्चर्सले परीक्षण गरिरहेका ६ करोड डोज लिन सम्झौता गरिसकेको छ । यसले बेलायतवासी प्रत्येकलाई ५ डोजका दरले खोप पुग्ने सरकारको विश्वास छ । सामान्यतः मानिसलाई दुई खोप भए पुग्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

बेलायती व्यापारमन्त्री आलोक शर्माले सरकारको रणनीतिको खास उद्देश्य सम्भावित खोपहरूमध्ये कुनै एकले काम गर्छ भन्ने निश्चिन्त हुनु रहेको बताए । यो सम्झौताले बेलायती जनतामात्र लाभान्वित नभई विश्वभर नै निष्पक्ष र उचित पहुँचले लाखौं जनताको जीवन रक्षा गर्ने शर्माले जनाएका छन् ।

अमेरिकाले मोडर्नासँग गत मंगलबार १ करोड खोपका लागि सम्झौता गरिसकेको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ छ । अमेरिकाले जोन्सन एन्ड जोन्सनसँग पनि करिब १ अर्ब डलरमा १ करोड खोप लिने सम्झौता गरेको छ । अमेरिकाले थप २ करोड अतिरिक्त खोप लिन सक्ने सम्झौतामा उल्लेख छ । ट्रम्प प्रशासनले औषधि उत्पादक सानोफी र ग्लाक्सो स्मिथ क्लाइन ९जीएसके० लाई २।१ बिलियन डलरमा १ करोड, फाइजर र बायोएनटेकसँग पनि १।९५ बिलियन डलरमा १ करोड खोपका लागि सम्झौता गरेको छ ।

अमेरिकाले खोप विकासमा अहिलेसम्म करिब ९।५ बिलियन डलर सहयोग गरिसकेको छ । त्यसैगरी, अस्ट्रेलियाले पनि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र बहुराष्ट्रिय कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेको खोप लिने सम्झौता गरेको छ । ती खोपहरूको परीक्षण सफल भएको खण्डमा अस्ट्रेलियामै उत्पादन गर्ने सहमतिसमेत भएको प्रधानमन्त्री स्कट मरिसनको भनाइ छ ।

गतसाता मरिसनले कोरोना भाइरसविरुद्धको खोप २ करोड ५० लाख अस्ट्रेलियालीका लागि निःशुल्क उपलब्ध गराइने वाचासमेत गरे । मरिसनका अनुसार खोप दिनका लागि आवश्यक पर्ने सुईलगायत अन्य सामग्री खरिदका लागि समेत बेक्टन डिकिन्सन कम्पनीसँग सहमति गरिसकिएको छ । हाल अस्ट्रेलियाका विभिन्न राज्यका करिब आधा दर्जन प्रयोगशालामा भाइरसविरुद्धको खोपको परीक्षण जारी छ ।

उता, रुसले विकास गरेको खोप अगस्टदेखि नै सुरुमा स्वास्थ्यकर्मी र अक्टोबरदेखि सर्वसाधारणलाई दिइने बताइएको छ । रुसका लगानी कोष प्रमुख किरिल डिमिट्राइभले विभिन्न २० देशबाट एक अर्ब बढी डोजको माग भइसकेको दाबी गरेका छन् । मानव परीक्षणको दुई महिनाभित्रै ल्याइएको ‘स्पुतनिक–५’ नामक उक्त खोपको सुरक्षा र प्रभावकारिताबारे भने कतिपय वैज्ञानिकहरूमा आशंका छ ।

युरोपेली आयोगले पनि गतसाता फर्मास्युटिकल कम्पनी अस्ट्राजेनेकासँग ३ करोड खोप किन्न सम्झौता गरेको छ । आयोगले खोप सुरक्षित र प्रभावकारी भए ईयू सदस्य राष्ट्रहरूका निमित्त थप एक करोड डोज किन्नेछ । खरिद गरिएका खोप निम्न तथा मध्यम आय भएका देशमा समेत प्रदान गरिनेछ ।

आफ्नो घरमा मात्र होइन, अत्यावश्यक मानिसलाई विश्वभर नै उपलब्ध गराउन प्रतिबद्ध रहेको आयोगको भनाइ छ । उसले कोरोना महामारीविरुद्ध जुध्न १६ अर्ब युरो उठाइसकेको छ । आयोगले अन्य औषधि कम्पनीहरूसँग पनि खोप खरिदका लागि वार्ता गरिरहेको जनाएको छ ।

अस्ट्राजेनेकाले यसअघि विभिन्न देशमा ४० करोड डोज आपूर्तिको पहिलो सम्झौता गरिसकेको छ । अमेरिकी सरकारबाट १ अर्ब डलर बढी सहयोग पाएको उक्त कम्पनीसँग सन् २०२१ सम्म १ अर्ब डोज उत्पादन गर्ने क्षमता छ ।

अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा अस्ट्राजेनेकाले अहिले तेस्रो चरणमा ३० हजार जनामा मानव परीक्षण गरिरहेको छ । उसले विश्वभर सहज र उचित तबरले खोप उपलब्ध गराउन कैयौं देशहरूसँग सहकार्य गरिरहेको पनि जनाएको छ । कम्पनीसँग जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्सले पनि ३ करोड खोप किन्न प्रारम्भिक सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।

बेलायतको बर्मिङघम विश्वविद्यालयका औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा। विभु पौड्याल बेलायतले विभिन्न प्रविधि प्रयोग गरेर विकसित गरिएका खोप लिने सम्झौता गरेको बताउँछन् । ‘सरकारले धेरै डिल गर्नुको अर्थ एउटा प्रविधि असफल भए अर्कोले काम गर्ने सम्भावना हुन्छ भन्ने विश्वास लिएर हो,’ डा। पौड्यालले भने, ‘अहिले कुनैमा निर्जीव भाइरस, कुनैमा सक्रिय प्रोटिनजस्तै बनोट भएको कृत्रिम संरचना राखेर खोप विकास भइरहेको छ ।’

बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय जनस्वास्थ्य विषयका प्राध्यापक डा। पदम सिंखडा विकसित देशहरूले अग्रिम खोप खरिद सम्झौता गरेर जनतालाई आश्वस्त पार्न खोजेको बताउँछन् । ‘खोप विकासमा सकारात्मक संकेत छ । तर, सबै खोप सफल हुने सम्भावना भने रहन्न,’ डा। सिंखडाले भने, ‘खोपको एन्टिबडी कुन तहमा विकास हुन्छ रु खोपले दीर्घकालीन रूपमा कस्तो असर गर्छ वा असर कति समय रहन्छ अहिले नै भन्न सकिने अवस्था छैन ।’