केजरीवाल कोरोना नियन्त्रणमा सफल बन्दै 

   ९ भाद्र २०७७, मंगलवार ११:५७  

भदौं ९, रौतहट ।  भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमितहरूको संख्या सोमबार ३१ लाख नाघेको छ । जुन अघिल्लो दिनको भन्दा २।३ प्रतिशत अर्थात् ६१ हजार ४ सयले बढी हो । विगत दुई सातादेखि भारतमा संक्रमितको संख्या दैनिक करिब यही दरले बढिरहेको छ ।

यो क्रम जारी रहेको खण्डमा अमेरिका र ब्राजिलपछि रहेको भारत केही दिनमै संक्रमित मुलुकहरूको सूचीमा दोस्रो स्थानमा उक्लिनेछ । पछिल्ला दिनमा भारतका महाराष्ट्र, आन्ध्र प्रदेश, तमिलनाडु, कर्नाटक, उत्तरप्रदेश र बिहार राज्यमा संक्रमण निकै तीव्र छ । संक्रमण नियन्त्रणका लागि विभिन्न उपाय अपनाइएका छन् । कहीँ लकडाउन गरिएको छ भने कहीँ स्थानीय तहमै कन्टेनमेन जोन बनाएर विशेष सतर्कता अपनाइएको छ ।

बढ्दो संक्रमणले आर्थिक गतिविधि शिथिल बन्ने जोखिम त्यत्तिकै छ । त्यसै पनि दुई महिना देशव्यापी लकडाउनले भारतीय अर्थतन्त्रलाई नराम्रोसँग धक्का दिएको छ । बेरोजगारी ह्वात्तै बढाएको छ भने स–साना उद्यमीहरू विस्थापित भएका छन् । यी घटनाक्रमले केन्द्र सरकारदेखि धेरैजसो राज्य सरकारहरूलाई चिन्तामा पारेको छ ।

यसरी भारतमा कुल संक्रमण भयावह हिसाबले बढिरहँदा दिल्लीको परिदृश्य भिन्न छ । मुख्यमन्त्री अरविन्द केजरीवाल भाइरसविरुद्धको लडाइँमा आत्मविश्वास हासिल गर्दै गएका छन् । हालैका दिनमा टेलिभिजन र अनलाइनमा प्रसारित अन्तर्वार्तामा केजरीवालको मुहारमा त्यो आत्मविश्वास प्रस्ट देखिन्छ । उनको त्यो आत्मविश्वास करिब २ करोड जनसंख्या रहेको दिल्लीको बढ्दो चहलपहल र आर्थिक गतिविधि सामान्य बन्दै गएबाट पनि बुझ्न सकिन्छ । साना पसलदेखि ठूला मलहरूसम्म सबै खुलेका छन् ।

उबर र ओलाजस्ता भाडाका ट्याक्सीदेखि अटोरिक्सा र ब्याट्रीवाला रिक्सा सबै निर्बाध चलिरहेका छन् । मदिरा पसलहरूमा भीड पहिलेकै जस्तो हुन थालेको छ । रेस्टुराँहरूमा विस्तारै चहलपहल बढ्ने क्रममा छ । टोलटोलका साना बजारहरू विस्तारै पहिलेकै जस्तो गुल्जार देखिन थालेका छन् । दिल्लीमा बस सार्वजनिक यातायातको प्रमुख साधनमा पर्छ ।

दिल्ली नगर निगमका बसहरू पनि पहिलेकै जस्तै आ–आफ्नो रुटमा गुड्न थालेका छन् । मेट्रो रेल सेवा दिल्लीको मास ट्रान्जिटको मुख्य साधन हो । त्यसलाई सञ्चालन गर्नका लागि मुख्यमन्त्री केजरीवालले केन्द्र सरकारसमक्ष आग्रह गरिसकेका छन् ।

बाँकी राज्यहरू आक्रान्त भइरहेका बेला दिल्ली सामान्य अवस्थातर्फ उन्मुख हुनुमा भाइरसको नियन्त्रण र रोकथाममा विगत एक महिनामा दिल्लीले हासिल गरेको सफलताको प्रमुख योगदान छ । पछिल्लो ३३ दिनमा लगातार दिल्लीको दैनिक संक्रमितको वृद्धिदर एक प्रतिशतभन्दा कम छ । जबकि भारतको औसत वृद्धिदर २ प्रतिशतभन्दा बढी रहँदै आएको छ ।

दिल्लीमा सोमबारसम्ममा १ लाख ६१ हजार ४ सय ६६ जना संक्रमित भएकामा १ लाख ४५ हजार ३ सय ८८ जना निको भइसकेका छन् । हालसम्म ४ हजार ३ सयको ज्यान गएको छ । निको हुने दर सबैभन्दा बढी अर्थात् ९० प्रतिशत छ । संक्रमितको संख्यामा आएको कमीका कारण दिल्ली अहिले उच्च संक्रमण भएका राज्यहरूमा छैटौं नम्बरमा छ । पछिल्लो एक महिनाको अवधिमा दिल्लीमा संक्रमितको संख्या ३८ प्रतिशतले बढेको छ भने महाराष्ट्रमा डेढ सय प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा दिल्लीमा थप ८ सय १३ जनाको मात्र मृत्यु भएको छ ।

जबकि डेढ महिनाअघिसम्म पनि दिल्ली महाराष्ट्र र तमिलनाडुभन्दा मात्र पछि थियो । संक्रमण दर उच्च थियो । त्यतिबेला दैनिक सय जना दरले संक्रमणका कारण ज्यान गइरहेको थियो । अहिले त्यो दसभन्दा मुनि छ । दैनिक परीक्षणमा सय जनामा ३५ जना संक्रमण देखिने गरेकामा अहिले त्यो ६ मा रहेको छ ।

जुन महिनाको पहिलो सातादेखि केन्द्र सरकारले लागू गरेको देशव्यापी लकडाउन क्रमशः खुकुलो पार्दै लगेपछि दिल्लीमा संक्रमणले भयावह रूप लिन थालेको थियो । दैनिक सय जनाको मृत्यु हुन थाल्यो भने एक दिनमा ४ हजारभन्दा बढीका दरले संक्रमित थपिन थाले । योसँगै केजरीवाल सरकारको व्यापक आलोचना हुन थाल्यो । त्यसअघि कोरोना महामारी पूर्ण नियन्त्रणमा रहेको बताइरहेका केजरीवाल सरकारको मनोबल पनि क्रमशः कमजोर हुँदै गयो ।

महामारी अनियन्त्रित हुन थालेको देखेर केजरीवालले केन्द्र सरकारदेखि सरोकारवाला निकायहरूसँग सहयोग मागे । ‘राजनीतिक मतभेदलाई अलग राखेर केन्द्र सरकारसँग पनि सहयोग मागियो, खुट्टा ढोग्नुपर्ने ठाउँ, त्यो पनि गरियो किनकि हामीलाई जसरी पनि महामारीमाथि नियन्त्रण पाउनु थियो,’ दिल्लीका मुख्यमन्त्री केजरीवालले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन् ।

त्यसका साथै केजरीवालले यसअघि भएका कमजोरीलाई केलाएर आवश्यक रणनीति अख्तियार गरे । परीक्षण दायरा बढाउनेदेखि स्वास्थ्य पूर्वाधारदेखि जनशक्ति अभावसम्मलाई सम्बोधन गर्ने काम भयो । क्वारेन्टाइन सेन्टर संख्या बढाइयो । १० हजार बेडको क्वारेन्टाइन सेन्टर तयार पारियो । केजरीवाल सरकारले परीक्षणदेखि अस्पतालसम्मको चक्रसम्ममा जहाँ कमजोरी छ, त्यो हटाउने काम गर्‍यो ।

यसबीचमा कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाइयो । अहिलेको भारतको औसत परीक्षण प्रति १० लाखमा करिब ६ सय मात्र रहँदा दिल्लीको भने ७० हजार ३ सय छ । संक्रमितको उपचारका लागि पनि भिन्न रणनीति अख्तियार गरियो । लक्षण नभएका र सामान्य लक्षण भएकाहरूलाई घरमै आइसोलेसेनमा बस्न भनियो । सामान्य लक्षण देखिइरहेकाको अक्सिजनको स्तर जाँच्न सरकारका तर्फबाटै अक्सिमिटर उपलब्ध गराइयो ।

त्यति मात्र होइन, स्वास्थ्यकर्मीहरूले संक्रमितलाई सम्पर्क गरेर स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिने प्रबन्ध गरिएको थियो । कुनै टोल वा बस्तीमा स्थानीयस्तरमा संक्रमण फैलिएको आशंका हुनासाथ ती क्षेत्रलाई तत्कालै सिल गरेर कन्टेनमेन जोन घोषणा गर्दै आउजाउ निषेध गरियो । राज्य सरकारले संक्रमित भएरनभएको पहिचान गर्न सबै घरधुरीबाट तथ्यांकसमेत लिएको थियो ।

कोरोना बिरामीहरूलाई अस्पतालमा शय्या अभाव हुन नदिन सरकारी र निजी अस्पतालमा शय्याको संख्या उल्लेख्य बढाइएको थियो । होटलहरूमा पनि आइसोलेसनको व्यवस्था गरिएको थियो । जुनको पहिलो सातासम्म सरकारी र निजी अस्पतालमा कोरोना बिरामीका लागि चार हजारभन्दा कम शय्या रहेकामा एक महिनाभित्र त्यसलाई बढाएर १५ हजारसम्म पुर्‍याइयो । यो सबै विवरण दिल्ली सरकारको वेबसाइटमा उपलब्ध गराइएको छ । जसमा दिल्लीमा उपलब्ध शय्यामध्ये खाली कति, भेन्टिलेटर र आईसीयू कति उपलब्ध छन्, सबै कुराको जानकारी पाउन सकिन्छ ।

यसैबीच, मुलुककै पहिलो प्लाज्मा बैंक पनि स्थापना गरियो । भाइरस नियन्त्रणका उपायहरू अवलम्बन गर्ने क्रमसँगै केजरीवालले आर्थिक गतिविधिलाई सुचारु बनाउन उद्यमी र व्यवसायीसँग पनि नियमित अन्तरक्रिया गरेका थिए । त्यस्तै, नागरिकको मनोबल बढाउन आफैं सामाजिक सञ्जाल र अन्य माध्यमबाट नियमित रूपमा उनले अन्तरक्रिया पनि जारी राखे । यिनै पहलका कारण दिल्लीमा कोरोना भाइरसको संक्रमण नियन्त्रण हुने दिशातर्फ उन्मुख छ

दिल्लीले हासिल गरेको सफलतालाई उदाहरणका रूपमा हेरिएको छ । केही साताअघि केन्द्रीय स्वास्थ्य राज्यमन्त्रीले त एउटा भिडियो अन्तरक्रियामा भाइरसको नियन्त्रण र रोकथाममा दिल्लीको अनुकरण गर्न अरू राज्यहरूलाई आग्रह नै गरेका थिए । तर केजरीवाल आफैंले अवस्था सुधार भए पनि संक्रमणको दोस्रो लहरको जोखिम यथावत् रहेको भन्दै ढुक्क हुने अवस्था भने नरहेको बताएका छन् ।

‘यो भाइरसको चरित्र नै कसैले बुझ्न सकेको छैन, कसैले मैले बुझेको छु भन्छ भने त्यो भ्रम हो, त्यही भएर परिस्थिति नबिग्रियोस् भन्नका लागि सावधानीको खाँचो छ,’ दक्षिण भारतीय च्यानल मनोरमा न्युजलाई दिएको अन्तर्वार्तामा केजरीवालले भने, ‘मास्क र सामाजिक दूरी अनिवार्य हो ।’