८ महिनामै थपियो ६० खर्ब सम्पत्ति, टेस्ला सीईओ मस्क बने विश्वकै चौथो धनी व्यक्ति
भदौं ६, रौतहट ।चर्चित कम्पनी टेस्ला तथा स्पेस एक्सका सीईओ अमेरिकी अर्बपति एलोन मस्क विश्वका सर्वाधिक धनी व्यक्तिको चौथो स्थानमा उक्लिएका छन् ।
ब्लुम्बर्गको रिपोर्टअनुसार चालू वर्ष सन् २०२० सुरु भएयता मात्रै मस्कको सम्पत्ति ५७ अर्ब डलर थपिएको छ । बिहीबार टेस्ला कम्पनीको शेयर मूल्यमा ११ प्रतिशतको बढोत्तरी भएसँगै एकैदिन मस्कको सम्पत्ति ७ अर्ब ८० करोड डलरले बढ्यो ।
सन् २०२० को सुरुआतमा मस्कको कुल सम्पत्ति जम्मा ३० अर्ब डलरको हाराहारीमा थियो । त्यतिबेलासम्म उनी विश्वका अर्बपतिहरुको सूचीमा टपटेनभन्दा निकै टाढा थिए । तर पछिल्लो ८ महिनामा उनको सम्पत्ति ५७ अर्ब डलर थपिएसँगै उनको सम्पत्ति ९० अर्ब डलर मात्र पुगेन उनी विश्वका अर्बपतिहरुको सूचीमा छलाङ मार्दै चौथो स्थानमा आइपुगे ।
ब्लुम्बर्ग बिलेनियर इन्डेक्सअनुसार विश्वका धनाढ्यको सूचीको पहिलो नम्बरमा अमेजन कम्पनीका सीईओ जेफ बेजोसको सम्पत्ति एक खर्ब ९२ अर्ब डलर रहेको छ । दोश्रो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन्, उनको सम्पत्ति एक खर्ब २१ अर्ब डलर छ । त्यस्तै तेश्रो स्थानमा फेसबुक सीईओ मार्क जुकरबर्ग रहेका छन् । उनको कुल सम्पत्ति ९९ अर्ब ५० करोड डलर रहेको छ ।
त्यस्तै विश्वमा सन् २०२० मा सबैभन्दा धेरै सम्पत्ति थप गर्नेमा मस्क दोश्रो स्थानमा छन् । पहिलो स्थानमा विश्वका सर्वाधिक धनी व्यक्ति अमेजनका सीईओ जेफ बेजोस रहेका छन् । सन् २०२० सुरु भएयता बेजोसले आफ्नो सम्पत्तिमा ७३ अर्ब डलर थप गरेका छन् ।
सन् २०२० सुरु भएयता टेस्ला कम्पनीको शेयर मूल्यमा छलाङ आइरहेको छ र वर्षको सुरुको तुलनामा हाल कम्पनीको शेयर मूल्यमा ३ सय ५० प्रतिशतले बढोत्तरी भैसकेको छ । सन् २०२० मा मस्कले कम्पनीबाट प्रोत्साहन भत्ताबापत कम्पनीको १७ लाख कित्ता शेयर थप प्राप्त गरेका छन् । जसको मूल्य ७७ करोड ५० लाख डलर हुन आउँछ ।
पछिल्लो ७ वर्षमा टेस्ला कम्पनीले निकै सफल यात्रा गरिसकेको छ । सन् २०१२ मा बजार मूल्य जम्मा ४ अर्ब डलर रहेको टेस्ला कम्पनीको बजार मूल्य अहिले १ खर्ब डलर पार भैसकेको छ ।
एजेन्सी