सागका तीन पाकिस्तानी खेलाडी प्रतिबन्धित
साउन २९,रौतहट । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका पाकिस्तानी खेलाडीहरू डोपिङ परीक्षणमा असफल भएका छन् ।
डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना भएको सागमा पाकिस्तानबाट दुई स्वर्ण र एक कांस्य पदक जितेका ३ खेलाडीले डोपिङ परीक्षणमा प्रतिबन्धित औषधि सेवन गरेको भेटिएको थियो ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएअनुसार सागमा स्वर्ण जितेका पाकिस्तानी खेलाडी मोहम्मद नइम, मेहबुब अली र कांस्य जितेका समी उल्लाहले प्रतिबन्धित औषधि सेवन गरेर प्रतियोगिता खेलेको पाइएको छ । नइमले १ सय १० मिटर हर्डल्स, अलीले ४ सय मिटर हर्डल्स र उल्लाहले १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।
सागमा सहभागी खेलाडीको विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को नियमअनुसार डोपिङ परीक्षण गरिएको थियो । सहभागी खेलाडीको पिसाब परीक्षणको नमुना कतारको दोहास्थित एन्टी डोपिङ ल्याबमा परीक्षण गर्दा पाकिस्तानी खेलाडीहरू नइम, अली र उल्लाहले विभिन्न प्रतिबन्धित औषधि सेवन गरेको पाइएको हो ।
वाडाको नियमअनुसार ती खेलाडीलाई ‘ए’ स्याम्पलबारे जानकारी गराइएको एनओसीले जनाएको छ । त्यस्तोमा खेलाडीले ‘बी’ स्याम्पलको परीक्षण गर्न पाउने हुन्छ ।
स्वर्ण पदक विजेता नइम र अलीले ‘बी’ स्याम्पलको परीक्षण गर्दा पनि प्रतिबन्धित औषधि सेवन गरेको पाइएको थियो । जसअनुसार दक्षिण एसियाली ओलम्पिक काउन्सिलको एन्टी डोपिङ नियमबमोजिङ उनीहरूलाई चार वर्ष प्रतिबन्ध लगाइएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जनाएका छन् ।
उनीहरूको प्रतिबन्ध सन् २०२३ को डिसेम्बरमा सकिनेछ ।