जारको भन्दै दुषित पानी बिक्रि
२२ अषाढ, रौतहट । अनुगमन गर्ने निकाय नहुदा रौतहटका पानी उद्योगहरुले प्रदुषित र फोहर पानी बजारमा विक्रि गरिरहेका छन ।
जिल्ला सदरमुकाम गौर र आसपासका क्षेत्रमा संचालनमा रहेका पानी उद्योगहरुले जारको पानी भन्दै प्रदुषित फोहर पानी विक्रि गरिरहदा पनि अनुगमन गर्ने निकायको ध्यान जान सकेको छैन ।
म्याद गुज्रीएका थोत्रा र फोहर जारमा प्रषोधित नभएको पानीलाई मिनरल वाटर भन्दै पानी उद्योगहरुले घर, पसल तथा विभिन्न संस्थाहरु पानी पु¥याइ रहेका छन । उद्योग सञ्चालकहरुले मापदण्डको पूर्णरुपले पालना नगर्दा सिल गरिएको पानीको बोत्तल भित्र प्लास्टीकका टुक्राहरु, धुलो तथा फोहर समेतको पानी बजारसम्म आइपुग्ने गरेको उपभोक्ताले गुनासो गरेका छन ।
प्रति जार ४० रुपैंयामा विक्रि गर्ने उद्योगहरुले संकलन गरेको खाली जारहरुलाई राम्ररी सफा नगर्ने तथा वर्षौसम्म एउटै जारलाई प्रयोग गर्दा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर पर्न सक्ने चिकित्सकको भनाई छ ।
“कहिले जारको पानी भित्र प्लास्टीकहरु तैरिरहेको हुन्छ भने कहिले जार नै फोहरले पहेलो भएको हुन्छ ।” गौरका स्थानीय नविन गुप्ताले भने “बजार अनुगमन गर्ने निकायहरु मौन हुदा उपभोक्ताले पैसा तिरेर पनि फोहर, अखाद्य पदार्थहरु प्रयोग गर्नु परेको छ ।” पानी जस्तो अत्यावश्यक कुरामा पनि लापरवाही हुनु दुखद भएको उनी बताउछन ।
जिल्लामा रहेका अनुगन गर्ने निकायले बजार अनुगमन र निगरानी गर्न नसक्दा म्याद गुज्रीएका, प्रयोगमा बन्देज रहेका तथा अखाद्यबस्तुहरु जिल्ला भरीनै विक्रि विरतण भइरहेको छ ।






