खेलाडीको कोभिड-१९ परीक्षण सकियो,

   २७ श्रावण २०७७, मंगलवार १५:२३  

अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीको कोभिड-१९ परीक्षण मंगलवार सकाएको छ। सोमवार र मंगलवार गरी एन्फाले पाटन अस्पतालमा खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टलका कर्मचारीलाई पीसीआर परीक्षण गराएको हो।

हिजो २५ जनाको कोभिड-१९ परीक्षण गराइएको थियो जसमा ११ जना खेलाडीसहित २ जना अफिसियल र होस्टलका १२ जना गरी २५ जनाको स्वाब संकलन गरिएको थियो। आज २३ जना खेलाडी र ६ जना अफिसियलको परीक्षण गराएको हो।

भदौ १ बाट खेलाडीलाई अभ्यासमा उतार्ने तयारीमा रहेको एन्फाले खेलाडी अभ्यासमा उतार्नका लागि एन्फाले १७ बुँदे प्रोटोकलसमेत तयार गरिसकेको छ। जसमा संक्रमणको लक्षण देखिएको अवस्थादेखि खाना खाने, लुगा धुने विषयमा पनि छुट्टाछुट्टै सन्दर्भहरु उल्लेख छ। त्यस्तै अभ्यासमा जाँदा तापक्रम मापन गर्ने, सामाजिक दुरी कायम राख्ने, कपडा जुत्ता धुँदा वासिङ मेसिनमा छुट्टाछुट्टै धुने, खाना खाने क्रममा सँगै नखाने, ‘टेक अवे’ गर्ने लगायतका विषयहरु उल्लेख छन्।

विश्वकप छनोट अन्तर्गतका खेलका लागि एन्फाले सरकारको निर्णयअनुसार भदौ १ गतेबाट अभ्यास सुरु गराउँदैछ। जसका लागि खेलाडीलाई काठमाडौं बोलाइसकेको छ।

केही समयअघि सम्म कोरोना संक्रमित राख्न प्रयोग गरिएको एन्फाको होस्टल खाली गरेर ‘डिसइन्फेक्ट’ गरिसकेको एन्फाले जनाएको छ।

नेपालले कतार विश्वकप २०२२ तथा चीन विश्वकप २०२३ को छनोट खेलअन्तर्गत ‘होम गेम’ सेप्टेम्बर/अक्टोबर महिनामा खेल्ने तालिका रहेको छ।