अमेरिकामा संक्रमित संख्या ५० लाख नाघ्यो
साउन २६, रौतहट ।अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ५० लाख ४१ हजार नाघेको छ । अमेरिकामा भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९ सय १३ पुगेको छ । यो विश्वभर मृत्यु हुनेमध्ये करिब एक चौथाइ हो । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव दाहसंस्कारका लागि लगिँदै तस्बिर : रोयटर्स भाइरसको संक्रमणबाट आर्थिक संकटमा परेका अमेरिकीलाई राहत दिने आर्थिक कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका बेला संक्रमितको नयाँ तथ्यांक सार्वजनिक भएको हो । यसअघि सार्वजनिक आर्थिक सहयोग प्याकेजबारे कंग्रेसमा सहमति नजुटेपछि उनले छुट्टै राहतसहितको कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । त्यसैगरी, कोरोना भाइरसबाट विश्वभर १ करोड ९७ लाख ६९ हजार संक्रमित भइसकेका छन् । भाइरसका कारण ७ लाख २९ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । भाइरसका कारण प्रभावित हुने देश अमेरिकापछि ब्राजिल छ । सोमबार बिहानसम्म ब्राजिलमा ३० लाख ३५ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने १ लाख १ हजार ४९ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा कोभिड संक्रमितको संख्या २१ लाख ५३ हजार नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार बिहानसम्म देशभर ४३ हजार ३ सय ७९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, रुसमा ८ लाख ८५ हजार तथा दक्षिण अफ्रिकामा ५ लाख ५९ हजार जना संक्रमित भइसकेका छन् । रुसमा १४ हजार ९ सय ३ तथा दक्षिण अफ्रिकामा १० हजार ४ सय ८ जनाले ज्यान गुमाइसकेका छन् ।