डब्लुएचओका महानिर्देशक डा. टेड्रोस काठमाडौँ आइपुगे

   ८ बैशाख २०७९, बिहीबार १५:३६  

८ वैशाख, रौतहट । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ पुगिसकेका छन् ।

तीन दिने भ्रमणमा नेपाल आएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. गेब्रेयससलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा काठमाडौं आएका गेब्रेयसस वैशाख १० गते (शनिबार) नेपालबाट फर्कने छन् ।

नेपाल भ्रमणका क्रममा डा. गेब्रेयसस राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाका साथै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यतालिका रहेको छ ।

त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् । भारत भ्रमणपछि उनी बिहीबार नेपाल भ्रमणमा आएका हुन् ।