पाकिस्तानमा पब्जीका कारण आफ्नै परिवारका चार जनाको हत्या

   १७ माघ २०७८, सोमबार १२:३५  

१७ माघ, एजेन्सी । पब्जीका कारण पाकिस्तानमा एक जना किशोरले आफ्नै आमा, दाइ र दुई बहिनीको हत्या गरेका छन् ।

इन्टरनेटमा खेलिने गेम पब्जीका कारण पन्जाब प्रान्तको राजधानी लाहोरमा केही दिनअघि एउटै परिवारका चार जनालाई गोली हानी हत्या गरिएको पाकिस्तानी समाचार पत्र द डनमा छापिएको छ ।

४५ वर्षकी केही दिनअघि नहिद मुबारक, उनका २० वर्षका छोरा तैमुर सुल्तान, छोरीहरू १५ वर्षकी महनुर फतिमा र १० वर्षकी जन्नतको शव एउटै कोठामा फेला परेको थियो । तर, घरमा नहिदका छोरा १४ वर्षका जैन अलि मात्रै जिवित नै थिए । उनको शरीरमा कुनै किसिमको चोट-पटक पनि लागेको थिएन ।

प्रहरीले गरिरहेको अनुसन्धानका क्रममा ती १४ वर्षीय अलि नै हत्यारा सावित भएको प्रहरी अधिकारीले द डन पत्रिकालाई जानकारी दिएका छन् । अलि धेरैजसो समय आफ्नो कोठामा पब्जी खेलेर बिताउँथे । उनकी आमा पब्जी धेरै नखेल भनेर उनलाई गाली गर्ने गर्थिन् ।

आफूले पब्जीमा टार्गेट पूरा गर्न नसकेपछि उनकी आमाले लाइसेन्स लिएर घरमा राखेकी पेस्तोलबाट नै झोंकमा आएर सबैलाई गोली हानेको अलिले प्रहरीलाई बयान दिएका छन् ।

अलिले सबैभन्दा पहिला आमालाई गोली हानेका थिए । त्यसपछि उनीसँगै सुतेका दुई बहिनीहरूलाई पनि गोली हानेको र आवाज सुनेर कोठाभित्र आएका दाइलाई पनि उनले गोली हानेर मारेको प्रहरी अनुसन्धानले देखाएको छ ।

सबैलाई गोली हानिसकेपछि अलिले पेस्तोल लिएर ढलमा फालेका थिए । उक्त पेस्तोल प्रहरीले अझै भेटाएको छैन ।