अंग्रेजी नयाँ वर्ष २०२२ आजदेखि शुरु
१७ पुस, एजेन्सी । आजदेखी अंग्रेजी नयाँ वर्ष २०२२ सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि सुरु भएको नयाँ वर्ष इस्वी सन् २०२२ धुमधामका साथै मनाइदैँ छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको हो । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष मान्निे गरिन्छ ।
नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, पोखरा, चितवनको सौराहा, बौद्ध, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।






