चिनियाँ प्रायोजकलाई आइपीएलमा लिएर भारतमा विवाद

   २० श्रावण २०७७, मंगलवार १०:५७  

साउन २०, रौतहट ।कोरोनाभाइरस महामारीका कारण सम्पूर्ण इण्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्समा गर्ने गरि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले तयारी गरिरहेको छ।

उसले विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथावत रहने गरि योजना गरिरहेको छ।तर केही समययता भारत र चीनबीच द्वन्द्व चर्किएको र भारतमा चिनियाँ कम्पनी बहिष्कार गर्ने माग उठिरहेका कारण अहिले त्यो विषय चर्को विवादमा परेको छ।

चिनियाँ मोबाइल कम्पनी भिभो आइपीएलको मुख्य प्रायोजक रहँदै आएको छ।

जम्मू-कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाले एकातिर देशमा चिनियाँ सामानको बहिष्कार भइरहेको र अर्कोतर्फ चिनियाँ कम्पनीलाई नै आइपीएलको प्रायोजनमा निरन्तरता दिइएको भन्दै बीसीसीआइको आलोचना गरेका छन्।

अब्दुल्लाले ट्वीटमा लेखेका छन्, “बीसीसीआइ/आइपीएल सञ्चालक परिषद्ले चीनको ठूलो कम्पनीसहित सबै प्रायोजकलाई निरन्तरता दिने निर्णय गरेको छ। मलाई त ती मूर्खहरूको बारे दु:ख लागेको छ जसले कौसीबाट टिभी फ्याँकेका थिए। तिनले यहि दिन देख्न बाँकी थियो।”यसबीच विपक्षी काङ्ग्रेसले पनि यहि विषयसँग जोडेर मोदी सरकारको आत्मनिर्भर भारत अभियानप्रति आलोचना गरेको छ।

यही साता आइतवार बसेको आइपीएल सञ्चालक परिषद्को बैठकले भिभोलाई प्रायोजकमा निरन्तरता दियो।बीसीसीआइसँग भिभोको पाँच वर्षे करार सम्झौता भएको थियो जुन सन् २०२२ सम्मको निम्ति छ।भिभो मोबाइल कम्पनीले करार अवधिमा बीसीसीआइलाई बर्सेनि लगभग ४४० करोड भारु तिर्छ।

आइपीएलको १३ औँ संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्सको दुबई, शारजाह तथा अबुधाबीमा खेलिनेछन्। यसका निम्ति बीसीसीआइले मोदी सरकारबाट जरुरी स्वीकृति पनि पाएको छ।

यसपटकको आइपीएलमा सबै टोलीहरूका निम्ति कडा स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गरिने बताइएको छ।

बीबीसी