क्रिकेट संघ (क्यान) प्रति नेपाली समर्थक आक्रोशित
२८ कार्तिक, राैतहट । आइसिसी टी-२० विश्वकप २०२२ को विश्व छनोट आगामी फेब्रुअरी र मेमा हुँदैछ। विश्व छनोटमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। १६ टिममध्ये ४ टिमले अगामी वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउनेछन्।
विश्व छनोट आउन तीन महिना बाँकी रहदा टिमहरूले तयारी सुरू गरिसकेका छन्।
तर नेपालको तयारी कहिले सुरू हुन्छ यकिन छैन। जसका कारण अहिले नेपाल क्रिकेट संघ (क्यान) प्रति नेपाली क्रिकेट समर्थक आक्रोशित बनेका छन्।
क्यानले नेपाली टिमको तयारी तत्काल थाल्नु पर्ने भन्दै समर्थकहरूले सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन्। #wakeupCAN नाममा समर्थकहरूले चलाएको विरोध शनिबार ट्विटर ट्रेन्डिङमा आएको थियो।
समर्थकहरूले सुरूमा फेसबुक समूहमार्फत क्यानविरुद्ध विरोध थालेका थिए।
नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) फेसबुक ग्रुपमा कमल आचार्यले विश्व छनोट नजिकिएको अवस्थामा नेपालका लागि जिम्बावे, नेदरल्यान्ड्स, ओमान, युएई, अमेरिका, सिंगापुर र क्यानडा जस्ता टिम कठिन हुने लेखेका छन्। टी-२० विश्वकपमा उत्कृष्ट खेल देखाएका नामिबिया र स्कटल्यान्डसँग नेपालले विश्वकप लिग-२ मा खेल्न लागेको अवस्थामा नेपालले छिटो तयारी थाल्नु पर्ने उनले लेखेका छन्।
क्रिकेट कमेन्टेटर आयुष गौतमले ट्विटरमा आफ्नो नाम परिवर्तन गर्दै #wakeupCAN राखेका छन्।
यस्तै दिपेश पण्डितले क्यानबाट आसा गर्न आफूले छाडिदिएको भन्दै ट्विटरमा लेखेका छन्।
#wakeupCAN अभियानलाई नजिकबाट नियालिरहेका पण्डितले अभियानबारे भने, ‘नेपालको महत्वपूर्ण खेलहरू आउँदैछन्। तर क्यानको सुस्त कार्यशैलीबाट निराश भएका फ्यानहरूले अभियान सुरू गरेका हुन्। सुरूमा फेसबुक फ्यान ग्रुपबाट #wakeupCAN सुरु भएको थियो। अनि मैले पनि ट्विटरमा लेखेको हुँ।’
व्यवस्थापन फितलो हुँदा गत बिहीबार नेपाली महिला टिमको बंगलादेशमा फ्लाइट छुटेको थियो। नेपाली टिमलाई पिसिआर रिपोर्ट नभएको भन्दै ढाकाको अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी भित्र छिर्न दिएका थिएनन्।
जसका कारण नेपाली टिम बसबाट स्वदेश फर्कनु परेको थियो। यो कुरा क्यानले सामाजिक सञ्जालमा जानकारी दिएको थियो। जुन जानकारीमा सयौं समर्थकले ह्यासट्यागमा #wakeupCAN मा क्यानको फितलो व्यवस्थापनमा प्रश्न उठाएका थिए।
कतिपयले उचित कदम नचालेमा क्यानको कार्यालय घेराउ गर्ने भन्दै लेखेका छन्।
सेतोपाटीबाट