श्रीलंकासँग वेस्ट इन्डिज पराजित

   १९ कार्तिक २०७८, शुक्रबार ०९:०९  

१९ कात्तिक, रौतहट । यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले वेस्ट इन्डिजलाई पराजित गर्दै दोस्रो जित निकालेको छ ।

बिहीबार राति यूएईको आबुधाबीमा भएको सुपर १२ अन्तर्गतको पाँचौ खेलमा साविक विजेता वेस्ट इन्डिजलाई २० रनले हराउँदै श्रीलंकाले दोस्रो जित हात पारेको हो । श्रीलंकाले वेष्ट इन्डिजलाई १९० रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनायो ।

वेस्ट इन्डिजका सिमरोन हिटम्यानले सर्वाधिक ८१ रन बनाएका थिए । तर उनी एक्लैको यो स्कोरले वेस्ट इन्डिजको हार टार्न सकेन । श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले दुईरदुई तथा दुसमन्था चमिरा र दासुन सनकाले एकरएक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभर खेल्दै तीन विकेट गुमाएर १८९ रन बनाएको थियो । श्रीलंकाका लागि चरिथ असालांकाले ६८ रनको बनाए भने पाथुम निसांकाले ५१ रनको योगदान गरे । वेस्ट इन्डिजका आन्द्रे रसेलले दुई र ड्वायन ब्राभोले एक विकेट लिए ।

श्रीलंकासँग पराजित भएको वेष्ट इन्डिज समूह चरणबाटै बाहिरिएको छ । चार खेल खेलको वेष्ट इन्डिजले एक खेलमात्रै जितेको छ । बाँकी एक खेल जिते पनि वेष्ट इन्डिजको अघिल्लो चरणको सम्भावना सकिएको छ ।

पाँचै खेल खेलिसकेको श्रीलंका पनि बाहरिसकेको छ भने कुनै पनि खेल जित्न नसकी बंगलादेख यसअघि नै बाहिरिसकेको छ ।