विश्वकप टी–२० : पाकिस्तान समूह २ को शीर्ष स्थानमा

   १७ कार्तिक २०७८, बुधबार ११:१५  

नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ५ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो ।

अन्तिम १० ओभरमा १ सय ३० रन बनाउँदै पाकिस्तानले २ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर मोहमद रिजवानले विस्फोटक पारी खेल्दै नटआउट रहेर ७९ रन बनाए । रिजवानले कप्तान बाबर आजमसँग मिलेर ११३ रनको साझेदारी गरे । बाबरले ७० रन बनाए । मोहमद हाफिजले १६ बलमा ३२ रन बनाउँदै पाकिस्तानलाई ठूलो स्कोर खडा गर्न मद्दत गरे ।

नामिबियाले केही राम्रो साझेदारी गरेपनि निर्धारित २० ओभरमा १४४ रन मात्र जोड्न सक्यो । चार खेलमा जीत हासिल गर्दै पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहेको छ । अब पाकिस्तानलाई कुनै पनि टोलीले उछिन्न सक्नेछैन । दोस्रो स्थानका लागि न्युजिल्याण्ड, अफिगानिस्तान र भारत प्रतिस्पर्धामा रहेका छन् ।

पाकिस्तानले समूह चरणको अन्तिम खेलमा आइतबार स्कटल्याण्डको सामना गर्नेछ । प्रतियोगिताबाट बाहिरिएको नामिबियाले न्युजिल्याण्डको सामना गर्नेछ ।