विश्वकपको सुपर–१२ मा श्रीलंका र आयरल्यान्ड
३ कात्र्तिक, रौतहट । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणअन्तर्गतको पहिलो खेलमा उत्कृष्ट जित निकालेका श्रीलंका र आयरल्यान्ड आफ्नो दोस्रो खेलमा आमने–सामने हुँदै छन् ।
अघिल्लो चरण प्रवेशका लागि दुवै टोली उत्कृष्ट खेल पस्किने योजनामा छन् । यसअघि, समूह ‘ए’मा श्रीलंकाले नामिबियालाई हराएको थियो भने आयरल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।
पहिलो खेलमा दुवै टोलीले ठूलो योगफललाई पछ्याउन परेन । दुवै टोलीका बलरले प्रतिस्पर्धीलाई सानो योगफलमा रोकेका थिए ।
आईसीसी वरीयताको १०औँ स्थानमा रहेको श्रीलंकाले आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि १२औँ स्थानको आयरल्यान्डको तुलनामा कमजोर देखिएको थियो ।
सोमबार भएको खेलमा आयरल्यान्डले नेदरल्यान्ड्समाथि उत्कृष्ट जित निकाल्दै आफ्नो स्तर देखाइसकेको छ । त्यसैले आजको खेलमा आयरल्यान्ड जित निकाल्दै अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।
आयरल्यान्डका तीव्र गतिका बलरहरूले उत्कृष्ट प्रदर्शन गरिरहेको अवस्थामा श्रीलंकाका तीव्र गतिका बलहरू चल्न सकेका छैनन् । यद्यपि, श्रीलंकाका स्पिनर महेश ठेकाहन र वानिन्दु हर्शरंगाले पाँच विकेट लिएका थिए । त्यसैले आजको खेलमा श्रीलंंकाका तीव्र गतिका बलरलाई केही दबाब हुनेछ ।
श्रीलंका र आयरल्यान्डबीचको खेल दुबईस्थित शेख ज्यायद क्रिकेट मैदानमा नेपाली समयानुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।
पहिलो चरणमा आठ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सुपर–१२ मा स्थान बनाउनेछन् ।