भारतमा थप ५५ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि

   १६ श्रावण २०७७, शुक्रबार १२:४७  

साउन १६, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा थप ५५ हजार ७९ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार नयाँ ५५ हजार ७९ जना कोरोना संक्रमित थपिएसंगै भारतमा संक्रमित हुनेको संख्या १६ लाख नाघेको छ ।

त्यस्तै, भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि ३५ हजार ७ सय ४७ पुगेको छ । बितेको २४ घण्टामा मात्र भारतमा थप ७ सय ७९ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना महामारीबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा थप ११ हजार १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार बिहानसम्म महाराष्ट्रमा संक्रमितको संख्या ४ लाख ११ हजार ७ सय ९८ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म १४ हजार ७ सय २६ जनाको कोरोनाबाट मृत्यु भएको छ भने करिब २ लाख ४८ हजार निको भएका छन् ।

गत वर्षको डिसेम्बरमा चीन वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट विश्वभर एक करोड ७२ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै विश्वका विभिन्न मुलुकमा गरी ६ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या झन्डै एक करोड एक लाख रहेको छ ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा करिब ४५ लाख व्यक्तिमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजारभन्दा बढी पुगेको छ । त्यस्तै अमेरिकामा संक्रमण पुष्टि भएकामध्ये करिब १४ लाख निको भएका छन् ।