अमेरिकामा कोरोनाविरुद्ध खोपको परीक्षण शुरु
द नेपाल मिडिया
१३ श्रावण २०७७, मंगलवार १५:१७
साउन १३, रौतहट । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप निर्माणको क्रममा सोमबारदेखि विश्वको सबैभन्दा ठूलो परीक्षण शुरु भएको छ ।
यो परीक्षणमा ३० हजार मानिस सहभागी हुँदैछन् । विश्वभर अहिले कोरोना भाइरसविरुद्धको खोप निर्माणको लागि काम भइरहेको छ । जसमध्ये परीक्षणको अन्तिम चरणमा रहेका खोपमध्ये अमेरिकी कम्पनीले बनाएको खोप पनि एक हो ।
नेशनल हेल्थ अफ इन्स्टिच्युट र मोडर्ना इंकले संयुक्त रुपमा यो खोप निर्माणको काम गरिरहेका छन् ।
यद्यपि अहिलेसम्म यो खोपले वास्तवमा नै काम गर्छ, कि गर्दैन भन्ने कुराको कुनै ग्यारेन्टी छैन । अहिले शुरु भएको परीक्षणमा सहभागी मानिसहरुलाई पनि वास्तविक खोप हो वा नक्कली खोप दिइएको हो भन्ने जानकारी दिइने छैन ।
उनीहरुलाई दुईपटक यो खोप दिएपछि, वैज्ञानिकहरुले नजिकबाट यो खोपको प्रभावकारिताको विषयमा अध्ययन गर्नेछन् ।