ट्रम्पले भने : मास्कले काम गर्छ
‘अमेरिकामा कोरोना संक्रमणको अवस्था झन् भयावह हुन सक्छ’
२०७७ साउन ७
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्कबारे आफ्नो धारणा परिवर्तन गरेका छन् । यसअघि पटक–पटक कोरोना संक्रमणबाट बच्न मास्क लगाउनुपर्ने अभिव्यक्ति दिएका ट्रम्पले मंगलबारको पत्रकार सम्मेलनमा भने मास्क प्रभावकारी भएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा उनले मास्क भने लगाएका थिएनन् । अमेरिकाका दर्जनौं राज्यमा कोरोना भाइरसको महामारी अझ व्यापक भएपछि राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । केही दिनअघि मात्रै उनले मास्क लगाउने नलगाउने अमेरिकी नागरिकको स्वतन्त्रताको विषय भएको बताएका थिए ।
राष्ट्रपति ट्रम्पले अमेरिकामा अब केही समय कोरोना संक्रमण अझ भयावह हुने चेतावनी पनि दिएका छन् । केही समय संक्रमण बढेपछि भने अवस्था सामान्य हुने उनले बताए । लामो समयपछि कोरोना भाइरसबारेको दैनिक प्रेस ब्रिफिङ सुरु गरेका ट्रम्पले मंगलबार भने सन्तुलित प्रतिक्रिया दिएका थिए । यसअघि डिसइन्फेक्टेन्टको भ्याक्सिन दिएर कोरोना निको हसने बताएका ट्रम्पले निकै आलोचना भएपछि कोरोनाबारेको प्रेस ब्रिफिङ बन्द गरेका थिए । सामाजिक दूरी कायम गर्न नसकेको अवस्थामा कोरोना संक्रमण नियन्त्रण र यसको फैलावट रोक्न प्रभावकारी हुने पनि उनले बताए । ‘तपाईँ रुचाउनुहोस् वा नरुचाउनुहोस्, मास्कले काम गर्छ,’ ट्रम्पले भने, ‘म पनि गर्वसाथ मास्क लगाउँछु, कुनै समस्या छैन ।’ यसअघि भने लगातार आफूले मास्क नलगाउने बताउँदै आएका ट्रम्पले केही दिनअघि सैनिक अस्पतालको भ्रमणका क्रममा मास्क लगाएका थिए ।
आगामी चुनावलाई मध्यनजर गर्दै ट्रम्पले सम्हालिएर अभिव्यक्ति दिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । विभिन्न मतसर्वेक्षणका अनुसार आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनले कडा टक्कर दिनेछन् ।त्यस्तै कोरोनाविरुद्धको खोप पनि छिट्टै निर्माण हुने ट्रम्पले बताए । ‘मुलुकका केही भागमा कोरोना नियन्त्रणको काम प्रभावकारी रुपमा भएको छ । केही ठाउँमा खासै राम्रो छैन । दुर्भाग्यवश अवस्था सामान्य हुनुभन्दा पहिले संक्रमणको अवस्था अझ भयावह हुने देखिन्छ । मलाई यस्तो भन्ने इच्छा त छैन तर अवस्था त्यस्तै हुनेछ,’ ट्रम्पले भने ।
कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिकामा बुधबार बिहानसम्म संक्रमितको संख्या करिब ३९ लाख पुगेको छ । कोरोनाबाट अमेरिकामा करिब एक लाख ४२ हजारको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये ११ लाख ८२ हजारभन्दा बढी निको भएका छन् ।