सिलिकन भ्यालीका ठूला कम्पनीहरु किन गर्दैछन् भारतमा लगानी
साउन ६, रौतहट । वर्ष सन् २०२० सुरु भएयता अमेरिकाका ठूला प्रविधि कम्पनीहरुले भारतमा झण्डै १७ अर्ब डलर लगानी गरिसकेका छन् ।
अमेजनले गत जनवरीमा १ अर्ब डलर भारतमा लगानी गर्ने घोषणा गर्यो । त्यसपछि गत अप्रिलको अन्त्यतिर फेसबुकले ६ अर्ब भारतमा डलर लगानी गरेको खबर पुरानो नहुँदै गुगलले सबैलाई पछि पार्दै १० अर्ब डलर लगानीको घोषणा गरेको छ ।
सिलिकन भ्यालीका प्रविधि कम्पनीहरुको लगानीका पछिल्ला यी दृष्टान्तहरु भारतीय प्रविधि उद्योगमा पछिल्लो समय भित्रिरहेको लगानीको तरंगका ठूला खबरहरु हुन् । यीसँगै भारतीय प्रविधि उद्योगमा यो वर्ष अहिलेसम्म २० अर्ब डलर लगानी भित्रिइसकेको छ र त्यसमध्ये अधिकांस अमेरिकी कम्पनीहरुकै छ ।
केही महिना अघिसम्म मात्र ती ठूला कम्पनीहरुको भारतीय सरकारी नियामक निकायसँग तिक्ततापूर्ण सम्बन्ध विद्यमान रहेको परिप्रेक्ष्यमा एकाएक भारतीय बजारमा लगानी भित्राउनुलाई निकै नै अर्थपूर्ण रुपमा हेरिएको छ ।
यद्यपि पछिल्लो समयमा परिस्थितिमा ठूलो बदलाव आइसकेको छ । कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई निर्ममतापूर्वक ध्वस्त पार्दैछ र भारतलाई झनै ठूलो धक्का पुर्याएको छ ।
चीनसँगको भारतीय कूटनीतिक विवादले प्रविधि क्षेत्रलाई समेत असर पारिरहेको छ । ट्रम्प प्रशासन र चिनियाँ कम्पनीहरुबीच तिक्ततापूर्ण अवस्था रहेको बेला चीनसँगको सम्बन्धका बारेमा भारत र अमेरिकाबीच समानता पैदा भएको छ ।
चीनसँग प्राविधिक सहकार्यको सम्भावना घटिरहेको र चिनिया नयाँ कानूनपश्चात् हङकङ जस्ता क्षेत्रहरुमा समेत आफ्नो विद्यमान बजार संकटमा परिरहेको अवस्थामा अमेरिकी प्रविधि कम्पनीहरुका लागि भारतीय बजारको महत्व ह्वात्तै बढेको हो ।
तर भारतमा आइरहेको लगानीको बाढीबाट एउटा कुरा के प्रमाणित भएको छ भने ७० करोड इन्टरनेट प्रयोगकर्ता रहेको र अझै आधा अर्व जनसंख्या इन्टरनेटमा जोडिन बाँकी रहेको भारतको डिजिटल अर्थतन्त्र दिग्गज प्रविधि कम्पनीहरुका लागि ठूलो पुरस्कारको रुपमा रहेको छ, जसलाई लामो समयसम्म नजरअन्दाज गर्न सकिन्न ।
अमेरिका र भारत वाणिज्य काउन्सिल नामक पैरवी समूहका अनुसार भारत दीर्घकालीन रुपमा उत्तम बजारको रुपमा स्थापित हुन लागेको कुरामा अहिले मानिसहरु आश्वस्त बनिरहेका छन् । भारतका नीति नियमहरु समेत स्वच्छ र पारदर्शी बनिरहेका छन् ।
चीन फ्याक्टर
ग्रेट फायरवालसमेत भनिने चिनिया सेन्सरसीपका कारण सिलिकन भ्यालीका ठूला कम्पनीहरुले वर्षौँदेखि चीनमा आफ्ना सेवाहरु लैजान सकेका छैनन् ।
पछिल्लोपटक चिनियाँ सुरक्षा कानून लागू भएसँगै हङकङबाट समेत फेसबुक र गुगल बढारिने सम्भावना रहेको छ । नयाँ कानून अनुसार हङकङमा सरकारले सोसल मिडिया तथा प्रविधि प्लाटर्फमहरुमाथि कठोर नियमन गर्न पाउनेछ ।
नयाँ कानून लागू भएसँगै गुगल, फेसबुक र ट्वीटरले हंगकंग सरकारसँग प्रयोगकर्ताका डाटा शेयर नगर्ने घोषणा गरेका छन् भने टिकटक हङकङबाट पूर्ण रुपमा बाहिरिसकेको छ ।
स्टाण्डफोर्ड विश्वविद्यालयका प्राध्यापक मार्क लेम्लीका अनुसार अब चीनसँग व्यवसाय गर्नु निकै कठीन बनिसकेको छ र चीनसँग व्यवसाय गर्दा नैतिक रुपमा पनि सम्झौता गर्नुपर्दछ भन्ने खालको धारणा मानिसहरुमा विकसित हुँदैछ ।
यसबीच चिनियाँ कम्पनीहरुमाथि अमेरिकी अविश्वासमा झनै वृद्धि हुँदैछ । राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी हुवावेको विस्तार योजनालाई निस्तेज पार्ने कार्यको जस आफुले पाउनुपर्ने दाबी गरिसकेका छन् भने चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाउने संकेत गरेका छन् ।
यस्तो कदमको अर्थचाहिँ अब अमेरिका भारतसँग जोडिदैछ भन्ने हो । भारत सरकारले गत महिना नै टिकटकलगायतका दर्जनौँ चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाइसकेको छ ।
चीनसँगको बढ्दो सीमा विवाद र २० जना भारतीय सैनिकको ज्यान जानेगरी भएको हिंश्रक झडपपछि भारतले यस्तो कदम उठाएको हो । उक्त घटनापछि भारतमा चिनियाँ सामानहरुको बहिष्कार अभियानसमेत चलेको थियो ।
यद्यपि भारतको चीनसँगको प्राविधिक क्षेत्रको सम्बन्ध निकै गहन छ । भारतीय बजारमा चिनिया स्मार्टफोनहरुको प्रभुत्व हुनुका साथै भारतका ठूला प्रविधि कम्पनीहरुमा उल्लेख्य चिनियाँ लगानीसमेत रहेको छ । तथापि चीनसँगको पछिल्लो तनावका कारण अमेरिका र भारतबीचको प्रविधि क्षेत्रको सम्बन्ध मजबुत बन्ने देखिएको छ ।