यस्तो छ सुनले बनेको संसारकै पहिलो पाँचतारे होटल

   ३ श्रावण २०७७, शनिबार ०८:१२  

साउन ३, रौतहट । होटलको विलासिताले धेरैलाई आकर्षित पारेको हुनसक्छ । तर यहाँ एउटा यस्तो होटलको कुरा गर्दैछौं, जुन सुनले बनेको छ । बाहिर संरचनामात्रै होइन, यो होटलको ट्वाइलेट सिटमा समेत सुनको जलप छ ।

भियतनामको हानेईमा बनाइएको यो पाँचतारे डोल्से हानेई गोल्डेन लेकको निर्माणमा १० करोड ६० लाख पाउन्ड, नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी खर्च भएको छ । यहाँ आउने पाहुनाले गोल्डन बाथमा आफ्नो हात धुन पाउनेछन्, गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न सक्नेछन् र सुनको जलप लगाइएको लबी हेरेर आश्चर्यमा पर्नेछन् ।

होटलको बिल्डिङमा सुनको जलप लगाउन एक टन सुन प्रयोग गरिएको छ ।

होटल बारे सुन्दा अचम्म लाग्यो होला । यस्ता होटलमा कस्ता व्यक्तिको पहुँच होला भन्ने सोच पनि आयो होला । यहाँ एक रात बस्न पाहुनाले २५० डलर अर्थात् २९ हजार ७ सय ७२ रुपैयाँ तिर्नुपर्नेछ । होटलका मालिक हु डुवाङ्गले आफ्नो होटलमा साधारणदेखि अत्यधिक धनाढ्य परिवारको उपस्थित हुने आशा राखेका छन् ।

उनले भने, ‘अहिलेको समयमा यो जस्तो होटल संसारको कुनै पनि मुलुकमा छैन ।’

स्रोतका अनुसार होटलको रुमको मूल्य तुलनात्मक रुपमा कम नै राखिएको छ, किनभने होटल बनाउनका लागि प्रयोग गरिएको सुन स्थानीय स्तरमा उपलब्ध भएको जसका कारण होटल बन्न पनि खासै धेरै खर्च नभएको हो ।

लकडाउनका कारण भियतनाममा होटलहरु खुल्न नसकेको अवस्थामा यस वर्ष आफ्नो होटल खोलिएकोमा होटल मालिक खुसी भएका छन् । अर्को वर्षदेखि आफ्नो व्यापार वृद्धि हुनेमा उनी आशावादी छन् ।

‘हाम्रो समुहको एउटा कारखाना छ, जसले सुनको जलप लगाएका वस्तुको उत्पादन गर्न सक्छ, हाम्रो यहाँका सामग्री र फर्निचर खासै महँगा छैनन्,’ ड्वाङ्गले भने ।

यहाँका लगभग सबैजसो सामग्रीमा मात्र जलप मिसाइएको छैन, यहाँ पस्किने प्रत्येक खानामा रहस्यमयी ‘सुनौलो पदार्थ’ मिसाइएको हुन्छ ।