भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए

   २६ असार २०७७, शुक्रबार ०८:४६  

असार २६, रौतहट । पछिल्लो २४ घण्टामा भारतमा थप २६ हजार ५०६ जना संक्रमित भएका छन् । दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सबैभन्दा धेरै रहेको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या सात लाख ९३ हजार ८०२ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिले पनि दुई लाख ७६ हजार ६८५ जना संक्रमित अवस्थामै रहेका छन् भने चार लाख ९५ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २१ हजार ६०४ पुगेको छ ।

कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र दुई लाख ३० हजार ५९९ जना संक्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा एक लाख २६ हजार ५८१ जना र दिल्लीमा एक लाख सात हजार ५१ जना संक्रमित भएका छन् ।