युक्रेनको ड्रोन आक्रमणका कारण मस्कोका प्रमुख हवाई अड्डा बन्द

   ६ श्रावण २०८२, सोमबार ०७:३३  

५ साउन, काठमाडौं । युक्रेनको ड्रोन आक्रमणका कारण रूसले मस्कोका प्रमुख हवाई अड्डाहरू अस्थायी रूपमा बन्द गरेको छ ।

हवाई अड्डाहरू बन्द हुँदा कम्तीमा १४० उडानहरू रद्द गरिएको रुसी स्थानीय अधिकारीहरूले जानकारी दिएको बीबीसीले जनाएको छ ।

शनिबार बिहानदेखि रूसमाथि २३० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालिएका र जसमध्ये २७ वटा राजधानी मस्कोमाथि खसालिएका रूसी रक्षा मन्त्रालयले जनाएको छ समाचारमा उल्लेख छ ।

मस्कोका चार प्रमुख हवाई अड्डाहरूको काम रोकिएको रूसको उड्डयन निगरानी एजेन्सीले बताएको छ । १३० भन्दा बढी उडानहरूलाई अन्य स्थानहरूमा डाइभर्ट गरिएको समाचारमा उल्लेख छ ।
रूसको टुर अपरेटर्स एसोसिएसनले आक्रमणका कारण मस्को हवाई अड्डा २४ घण्टामा १० पटक बन्द गरिएको आइतबार  बताएको छ ।

यसैबीच, रुसी स्थानीय अधिकारीहरूका अनुसार रातमा युक्रेनमाथि रूसले गरेको हवाई आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको छ । बीबीसी