सिनेटरदेखि राष्ट्रपतिसम्म को हुन् जो बाइडन ?

   २३ कार्तिक २०७७, आईतवार ११:२७  

डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्।

पेन्सिल्भेनिया राज्यमा विजय हासिल गरेसँगै राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत भन्दा बढी मत प्राप्त गरेका छन्। कडा प्रतिस्पर्धा भएको पेन्सिल्भेनिया राज्यमा ट्रम्पलाई उछिनेपछि बाइडने निर्वाचन जितेको घोषणा गरिएको हो । अमेरिकामा विभिन्न राज्यलाई छुट्याइएको निश्चित इलेक्टरल भोटको आधारमा राष्ट्रपति निर्वाचित हुन् ।

सबै ५० राज्यमा निहित कुल ५३८ इलेक्टरल मतमध्ये राष्ट्रपति निर्वाचित हुन २७० मत आवश्यक पर्छ। सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन्न् जो सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन्।

को हुन् त जो बाइडन?

प्रभावशाली वक्ता

सन् १९७० ताका जो बाइडन

बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए। अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो। उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो गुण भएका मानिस पनि हुन्।

भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो।

बाइडन

एउटा र्‍यालीमा भाषण गर्दै उनले भनेका थिए: “मेरा पुर्खा उत्तरपूर्वी पेन्सिल्भेनियाका कोइलाखानीमा काम गर्थे।” उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए।

तर वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् – उनले त्यो वाक्य (र अन्य कैयौँ वाक्य) एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए। पछि ‘जो बम’का नामले परिचित बन्न पुगेका यस्ता विभिन्न गल्तीको शृङ्खलाको त्यो पहिलो कडी थियो।

सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाषणमा भने, “मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा।” विचार नगरी उनले भनेको कुरालाई निकट मित्रता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अर्थ्याउन सकिन्थ्यो।

बराक ओबामा र जो बाइडन

राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले ‘अर्थतन्त्रमा हामीले हानि पुर्‍याउने ३० प्रतिशत सम्भावना छ’ भनेर मानिसहरूलाई त्रसित बनाइदिए। उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए “अफ्रिकी-अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तीक्ष्ण र स्वच्छ अनि आकर्षक छ।”

तापनि भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपतिमा चुने।

अनुभवी प्रचारक

दुईजना मतदातासँग सेल्फी खिचाउँदै बाइडन

उनको स्पष्ट बोल्ने शैलीको अर्को पक्ष पनि छ। रोबट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन्। बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन्।

बाइडन

खासगरी कामदार तथा मजदुर वर्गलाई बाइडनले आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन्। भाषणपछि श्रोतासँग उनी हात मिलाउँछन् र फोटो खिचाउँछन् – कुनै रकस्टारले जस्तै।

“उनी मानिसहरूसँग अङ्कमाल गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ। कृत्रिम हुँदैन,” पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जन केरीले द न्यूयोर्कर पत्रिकालाई बताए।

बराक ओबामा र जो बाइडन

लामो इतिहास

अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन्।

सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्‍याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडन उभिएका थिए।

यो विषयलाई पटकपटक उनको विरुद्धमा प्रयोग गरिएको छ। ओबामाको कार्यकालमा रक्षामन्त्री रहेका रोबर्ट गेट्सले विदेशनीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित लगभग प्रत्येक महत्त्वपूर्ण निर्णयमा बाइडन गलत ठहरिएको तर पनि उनलाई नरुचाउन भने नसकिने बताएका थिए।

पारिवारिक वेदना

बाइडन र नेलिया सन् १९७० ताका

बाइडन अन्य राजनीतिज्ञभन्दा सर्वसाधारण जनतानिकट देखिनुमा एउटा कारण भनेको अरूले जस्तै उनले बेहोरेका पारिवारिक शोक हुनसक्छ।

सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए। सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडनको निधन भयो। आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ।

विदेश मामिला

चिनियाँ राष्ट्रपति सी जिनपिङ्सँग जो बाइडन

कूटनीतिक अनुभव उनको बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी काण्ड बाइडनको निम्ति बढ्ता हानिकारक हुन्छ।

उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए। आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन्। सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए। पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले।

अलि सतर्क रहन रुचाउने बाइडनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए। सो कारबाहीमा बिन लादेन मारिएका थिए।

बाइडनका दृष्टिकोणहरू डेमोक्र्याटिक पार्टीका कैयौँ युवा अभियानकर्मीहरूले भने रुचाउँदैनन्। उनीहरूले बर्नी स्यान्डर्स वा एलिजाबेथ वारेनका जस्ता कट्टर युद्धविरोधी अडानको समर्थन गर्छन्।

तर कैयौँ अमेरिकीको रुचिविपरीत उनी अलि ज्यादा शान्तिकामी पनि लाग्न सक्छन्। उनको अधिकांश नीतिहरू मध्यमार्गी किसिमका छन्।

बिबिसीको सहयोगमा