भारतको झारखण्डमा केबलकार एकआपसमा ठोकिएर दुई जनाको मृत्यु

   २८ चैत्र २०७८, सोमबार १४:२६  

२८ चैत, एजेन्सी । भारतको झारखण्डमा केबलकार एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएको भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख गरिएको छ । त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए । प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ ।

इन्डिया टुडेले केबलकारमा अड्किएकाहरूको सोमबार दिउँसोसम्म उद्धार हुन नसकेको उल्लेख गरेको छ । १२ वटा केबलकारमा अहिले पनि ४८ जना मानिसहरू केबलकारमा अड्किएका छन् ।

केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी र्पुयाइएको छ । भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ । नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो ।

आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो । एजेन्सी

भिडियोसहित:-