भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा बनारसमा
२० चैत, एजेन्सी । प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् ।
भारत भ्रमणमा रहेका देउवा आइतबार बिहान विशेष विमानबाट बनारस पुगेका हुन् । बनारस पुगेको प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गुलाबको फूल दिएर स्वागत गरेका थिए ।
बनारसमा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । देउवाले समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजा अर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
साथै, प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँ दिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।






