भारतीय प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा महिलामाथि गोली प्रहार

   २० पुष २०७८, मंगलवार १०:५३  

२० पुस, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएको आरोपमा एक महिलामाथि गोली प्रहार भएको छ ।

उत्तर प्रदेशको सुल्तानपुरमा मोदीलाई कालो झण्डा देखाएको अभियोगमा रीता यादवमाथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते भएकी उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेसवे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिताले कालो झण्डा देखाएकी थिइन् । कालो झण्डा देखाएको आरोपमा यादवलाई प्रहरीले दुई दिन थुनामा राखेपछि छाडेको थियो ।

रीता यादवले मिडियालाई दिएको जानकारी अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गोली हानिएको हो ।

उनीमाथि गोली चलाउने व्यक्तिको भने पहिचान हुन सकेको छैन् । यसबारे अनुसन्धान भइरहेको छ ।