बंगलादेशमा यात्रु सवार डुंगामा आगो लाग्दाँ करिब ३६ जनाको मृत्यु
९ पुस, रौतहट । बंगलादेशमा आज बिहान एउटा फेरिमा आगो लाग्दा करिब ३६ जनाले ज्यान गुमाएका छन् ।
राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार शुक्रबार बिहान ३ बजेतिर आगलागी भएको समाचार संस्था एएफपीमा उल्लेख गरिएको छ ।
५ सय मानिस सवार भएको तीन तले फेरिमा आगलागी हुँदा करिब ३६ जनाको मृत्यु भएको छ । बंगलादेशको प्रहरीले अहिलेसम्म ३६ जनाको शव निकालेको र मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ ।
आगोले जलेका झन्डै १०० जनालाई उपचारका लागि अस्पताल लगिएको छ । केही मानिसहरू अझै हराइरहेका छन् ।
फेरिको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ । फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए ।






