अमेरिकाको आँधी : मृतक संख्या १०० भन्दा बढी पुग्ने

   २६ मंसिर २०७८, आईतवार १३:२४  

बीबीसी । संयुक्त राज्य अमेरिकाको कन्टकी राज्यमा शुक्रवार राति आएका घातक आँधीका कारण त्यहाँका ७० जनाभन्दा बढीको ज्यान गएको अधिकारीहरूले बताएका छन् । तर मृतकको सङ्ख्या १०० भन्दा बढी पुग्न सक्ने कन्टकीका गभर्नर एन्डी बिशिअरले बताएका छन्।

उनले टोर्नेडो भनिने उक्त आँधीबेहरीलाई राज्यको इतिहासकै सबैभन्दा नराम्रो भनेका छन् । राष्ट्रपति बाइडनले शुक्रवारको आँधी अमेरिकामा आएका ठूलामध्ये एक भएको टिप्पणी गरेका छन् ।

मेफील्ड सहरस्थित एउटा मैनबत्ती कारखानाभित्र दर्जनौँ मानिसको मृत्यु भएको छ । त्यहाँ कार्यरत ११० जनामध्ये ४० जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो।

उक्त आँधीबेहरीका कारण अन्य राज्यमा पनि कम्तीमा १२ जनाको ज्यान गइसकेको छ। कन्टकीमा गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।

राष्ट्रपति जो बाइडनले एउटा सङ्घीय आकस्मिक विपद् घोषणापत्रमा हस्ताक्षर गर्दै उक्त राज्यका लागि रकम निकासा गरेका छन् । कन्टकी राज्यमा आकस्मिक सेवाका कर्मचारीहरूले विभिन्न कारखानाका भग्नावशेषमा मानिसहरूको खोजी गरिरहेका छन्।

प्रहरी कार्यालय र अग्नि नियन्त्रण केन्द्रहरूमा पनि क्षति पुगेपछि उद्धारमा कठिनाइ उत्पन्न भएको छ। त्यहाँ हजारौँ मानिसहरू पानी र इन्धनबिना रहन बाध्य छन्।

आफन्त गुमाएका वा तिनको स्थिति थाहा नभएका व्यक्तिप्रति सहानुभूति प्रकट गर्दै बाइडनले सङ्घीय सरकारले यथासम्भव सहयोग गर्ने बताएका छन् ।

उनका अनुसार आपत्कालीन सेवा हेर्ने निकायका टोलीहरू आइतवार कन्टकी जाने तथा थप स्रोत र साधन उपलब्ध गराउने छन् । त्यसमा घरमा क्षति पुगेका मानिसका लागि अस्थायी आवासको व्यवस्था गर्नु पनि पर्छ ।

तस्बिर : रेउटर्स