सिमाक्षेत्रका समस्या प्रति मन्त्रालय गम्भीर : गृह सचिव न्यौपाने

   २८ मंसिर २०७७, आईतवार १५:५१  

२८ मंसिर, रौतहट । कोरोना संक्रमणले गर्दा सिमा नाकाहरु लामो समय देखि बन्द भए पछि सिमा क्षेत्रको स्थानियलाई समस्या परेको विषयमा गृह मन्त्रालय गम्भीर रहेको गृह सचिव महेश्वर न्यौपानेले बताए ।

अन्तराष्ट्रिय सिमाना बन्द हुदा सिमाक्षेत्रका स्थानियहरुलाई केही असहजताको सामना गर्नु परेको गृह सचिव न्यौपानेले बताए । सिमावर्ति क्षेत्रका आफ्ना सामाजिक साँस्कृतिक सम्बन्धहरु रहेकोमा जनस्तरको आवागमनमा अप्ठ्यारो परेकोले सम्बन्धीत जिल्ला प्रशासन कार्यालयहरुले व्यवहारीकरुपमा बिहेवारी लगायतका कार्यहरुमा केही सहजता प्रदान गर्न समन्वय गरेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा आयोजित कार्यक्रममा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले किसानहरुलाई समयमै कृषि मल पर्याप्तमात्रामा उपलब्ध हुन नसक्दा सिमाक्षेत्रमा सो को असर देखिएको बताए । भारतीय क्षेत्रबाट कृषकको नाममा व्यापारिक तरिकाले मलखाद जम्मा गर्ने र देशका अन्य स्थानमा महङ्गोमा विक्री गर्नेहरुको सामान नियन्त्रणमा लिएर कानूनी कारवाही गर्न समेत उनले सुरक्षा निकायहरुलाई निर्देशन दिएका थिए ।

कोरोना संक्रमणका समय संघिय सरकार सहित तिनै तहको सरकारले हरसम्भव कार्य गरेको बताउदै उनले रौतहटमा पिसिआर ल्याब र तिन सय सैयाको आइसोलेसन निर्माणमा सहयोग गर्ने स्थानिय तहको प्रशंसा गरेका थिए । कार्यक्रममा रौतहटका १८ स्थानिय तहका प्रमुखहरुलाई सम्मान गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको भवनको लागी जग्गा प्रदान गर्ने जग्गा दाता गोपाल अग्रवाल सहित संचारकर्मी र विभिन्न संघसँस्थाका प्रतिनिधिलाई सम्मान प्रदान गरिएको थियो ।

रौतहटको गौरमा प्रमुख जिल्ला अधिकारीको सरकारी निवासको शिलान्यास तथा जिल्ला प्रशासन कार्यालय भवनको उदघाटनका लागी गृह सचिव न्यौपाने, नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, मुख्य अनुुसन्धान निर्देशक गणेश अधिकारी सहितको टोलि रौतहट आएको थियो ।