रौतहटमा धार्मिक सद्भाव र शान्ति कायम राख्न सर्वदलीय प्रतिबद्धता

   १५ श्रावण २०८३, शुक्रबार १०:२१  

१५ श्रावण, रौतहट । पछिल्लो समय सुनसरी घटनालाई लिएर मधेशका विभिन्न जिल्लाहरुमा भएका घटनालाई मध्यनजर गर्दै रौतहटका राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, धार्मिक अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूले जिल्लामा धार्मिक सद्भाव, सामाजिक एकता र शान्ति कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जिल्ला प्रशासन कार्यालय रौतहटमा आज बिहान आयोजित सर्वपक्षीय बैठकपछि जारी गरिएको निर्णयमा कुनै पनि धार्मिक, सामाजिक वा साम्प्रदायिक विवाद तथा उच्छृङ्खल गतिविधि हुन नदिन सबै पक्ष जिम्मेवार र सचेत रहने उल्लेख गरिएको छ।

बैठकले जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सबै राजनीतिक दल, नेतृत्व वर्ग, जनप्रतिनिधि, स्थानीय सरकार, सामाजिक अभियन्ता, धार्मिक अगुवा, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा नागरिक समाजले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

त्यस्तै, रौतहटलाई धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव तथा सहिष्णुताको नमुना जिल्लाका रूपमा स्थापित गर्न सबै पक्षले संयुक्त रूपमा पहल गर्ने प्रतिबद्धता पनि बैठकले जनाएको छ।

बैठकमा सहभागी विभिन्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले निर्णयपत्रमा हस्ताक्षर गर्दै जिल्लामा सामाजिक सद्भाव र आपसी एकता कायम राख्न सामूहिक प्रतिबद्धता जनाएका छन्।