सभापतिबाट राजीनामा दिँदा के लेखे गगन थापाले?
५ चैत , काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उठेका आफूसहित सबै पदाधिकारी पराजित भएपछि त्यसको जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन ।
सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्।
चुनावी समीक्षालगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान भएपछि सभापति थापाले पदबाट राजीनामा दिएका थिए।
सभापति थापा सर्लाही ४ बाट पराजित भएका थिए।
सभापतिबाट थापाले राजीनामा दिँदा लेखेका कुरा-
विशेष महाधिवेशनपछि पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दै अत्यन्त छोटो समयमै निर्वाचनमा पार्टीको नेतृत्व गर्नु मेरो लागि अवसर र चुनौती दुवै थियो।
विशेष महाधिवेशनले केवल नेतृत्व परिवर्तन मात्र गरेको थिएन, त्यो नेपाली कांग्रेसभित्र बहुआयामिक सुधार र आत्मसमीक्षाको सुरूवात पनि थियो।
पार्टीभित्र सुरू भएको परिवर्तनले कार्यकर्तामा उत्साह जगाए पनि आम मतदातासम्म ‘बदलिएको कांग्रेस’ को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय प्राप्त हुन सकेन।
यसपटकको परिणामका प्रमुख कारणहरूमध्ये समयको यो सीमितता मुख्य कारण रहेको मेरो बुझाइ छ।
म स्पष्ट छु- यदि विशेष महाधिवेशन सम्पन्न नभई निर्वाचनको सामना गर्नुपरेको भए परिस्थिति र परिणाम अझ प्रतिकूल हुन्थ्यो। तथापि यस निर्वाचनमा पार्टी मेरो नेतृत्वमा सहभागी भएको थियो, त्यसैले मैले कति समय जिम्मेवारी सम्हालेँ वा कुन अवस्थामा सम्हालेँ वा नसम्हालेको भए के हुन्थ्यो भन्ने विषय गौण हो। वर्तमान परिणामप्रतिको जबाफदेहिता मेरो हो भन्नेमा म पूर्णतः स्पष्ट छु।
निर्वाचन सम्पन्न भएलगत्तै मैले राजीनामा दिने मनस्थिति बनाएको थिएँ तर निर्वाचनसँग सम्बन्धित आफ्नो जिम्मेवारीसँग जोडिएका अन्य आवश्यक कार्यहरू सम्पन्न गर्नुपर्ने भएकोले ती सम्पन्न गर्नासाथ मैले यो राजीनामा पेस गरेको हुँ।
आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरूसँग र आम नागरिकसँग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु। नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न रहनेछु।
आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन।
त्यसैले मेरो यो निर्णय अन्त्य होइन- यो त नेपाली कांग्रेसको आत्मसमीक्षा, जबाफदेहिता र पुनर्जागरणतर्फको एउटा प्रारम्भिक कदम हो।






