ओली र प्रचण्ड बीच भेटवार्ता

   २० पुष २०८२, आईतवार १३:२६  

२० पुस, काठमाडौं । देशको बदलिँदो राजनीतिक समीकरण र आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै प्रमुख दलका शीर्ष नेताबीच छलफलहरू बढ्न थालेका छन्। यही क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेटवार्ता भएको छ।

ललितपुरमा सम्पन्न भेटमा दुई नेताले समसामयिक राजनीति, संसद्‌को अवस्था र आगामी निर्वाचनका सम्भावित रणनीतिबारे विचार–विमर्श गरेका छन्। प्रचण्डको सचिवालयका अनुसार छलफल औपचारिकभन्दा पनि राजनीतिक धारणा आदान–प्रदानमा केन्द्रित थियो।

भेटमा राष्ट्रियसभा सदस्य निर्वाचन र त्यसपछि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै दलहरूबीच सहकार्यको सम्भावनाबारे पनि कुरा उठेको बताइएको छ। यद्यपि, छलफलबाट कुनै ठोस निर्णय भने सार्वजनिक गरिएको छैन।

राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्ला दिनहरूमा प्रमुख दलका शीर्ष नेताहरूबीच बढ्दै गएको संवादलाई आगामी निर्वाचनअघि नयाँ समीकरणको संकेतका रूपमा लिन सकिन्छ। राष्ट्रियसभा निर्वाचन माघ ११ गते र प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते तय भइसकेकाले दलहरू रणनीति निर्माणमा सक्रिय देखिएका छन्।