एमालेको नेतृत्व चयनका लागि मतदान जारी
२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि मतदान भइरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको छ ।
भृकुटीमण्डपमा अध्यक्षका प्रत्याशीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेर सुरु गरेपछि अहिले प्रतिनिधिहरुले धमाधम मतदान गरिरहेका छन् ।
सुरुमा मतदान गरेका ओली र पोखरेललाई ४० मिनेट समय लागेको थियो । अहिले एक पटकमा ५० जना भित्र पठाइएको छ ।
मतदान गरेका प्रतिनिधिहरुका अनुसार एक जनालाई २५ देखि ४० मिनेटसम्म समय लागेको छ । प्रविधिमैत्री मान्छेलाई २५ मिनेट लाग्ने उनीहरुको अनुभव छ ।
आज बिहान ९ बजेर २० मिनेटमा सुरु भएको मतदानमा मध्याह्न १२ बजेसम्ममा करिब ४०० जनाले मतदान गरेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उमेदवार प्रतिस्पर्धामा छन् । दुई हजार २६३ प्रतिनिधि रहेका छन् ।






