मधेस राजनीतिमा उदाएका एक जेन–जी युवा ‘जैद आलम’

   २७ मंसिर २०८२, शुक्रबार १२:२७  

२६ मंसिर, रौतहट । मधेस राजनीतिको इतिहास संघर्ष, बलिदान र सामाजिक रूपान्तरणका अध्यायले भरिएको छ । यही परिवेशमा पछिल्ला वर्षहरूमा एक नयाँ पुस्ता रौतहटको राजनीतिमा उदाउँएका छन । चर्चा र सम्भावनासहित उदाइरहेका युवा नेता हुन मोहम्मद जैद आलम ।

देशममा जेनजी पुस्ताका नया युवाहरुलाई अवसरको कुरा चलिरहदा जैद आलमले भने आफुलाई सबैभन्दा कान्छा प्रदेश सभा सदस्यको रुपमा मधेश प्रदेसमा स्थापित गरेका छन ।

राजनीतिक विरासतसहित उठेको जैद आलमको नेतृत्व

मोहम्मद जैद आलम राजनितिक विरासत बोकेका परिवारका सदस्य हुन । उनी पूर्व सांसद तथा नेकपा एमालेका चर्चित प्रतिनिधि स्व. मोहम्मद मुस्ताक आलम (राजा बाबु) का कान्छा छोरा हुन । उनका पिता मुस्ताक आलम मधेसको राजनीतिमा निडर, ईमानदार र जनमुखी नेताका रूपमा स्थापित थिए । शेख इद्रीस जस्ता ऐतिहासिक व्यक्तित्वका नाति रहेका उनी २०७० को संविधानसभा निर्वाचनमा चर्चित नेता अफताब आलमलाई पराजित गर्दै क्षेत्र नम्बर २ को राजपुरबाट मधेसको राजनीतिमा उदाएका थिए ।

परिवारको त्यही राजनीतिक संस्कार, जनताप्रेम र मूल्यबोधले नै जैदको नेतृत्व व्यक्तित्वलाई आकार दियो । पिताको असामयिक निधनपछि जैद आलमले परिवारको जिम्मेवारीमा मात्र होइन, मधेसको राजनीतिक यात्रामा पनि उत्तराधिकारीका रूपमा अघि बढे ।

२०७४ को पहिलो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले २६ वर्षीय जैदलाई राजपुर नगरपालिकाको नगर प्रमुखका उम्मेदवार बनाएर राजनीतिको कठोर मैदानमा उतारेको थियो । युवा उमेर, सीमित अनुभव र स्थापित प्रतिद्वन्द्वीबीच प्रतिस्पर्धा कठिन नै थियो, तर उनले जनताबीच असाधारण लोकप्रियता कमाए । झिनो मतान्तरले पराजित भए पनि यो हार उनको करियरको ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो ।

२०७९ को स्थानीय चुनाव नजिकिँदै गर्दा जैद एमालेबाट नगर प्रमुखका सबैभन्दा बलिया उम्मेदवारका रूपमा देखिन थालेका थिए । तर पार्टीभित्रकै अन्तिम क्षणको निर्णयले उनको टिकट अन्यले पाए । यो घटनाले जनतामा व्यापक असन्तोष र जैदप्रति सहानुभूति उत्पन्न गर्‍यो । त्यही बेला जसपाले उनलाई टिकट दियो । तीव्र जनसमर्थन पाएका उनले कडा प्रतिस्पर्धा गरे, तर फेरि पनि जित हात पर्न सकेन ।

यो लगातार दोस्रो हार भए पनि जैद राजनीतिबाट पछि हट्ने स्वभावका थिएनन । बरु उनी झन् परिपक्क र दृढ भएर अघि बढे ।

मेयरमा पराजित भएका जैदलाई राजपुरका जनताले २०७९ को प्रदेशसभा चुनावमा मधेश प्रदेश सभाको युवा प्रदेश सासंदको रुपमा विजयी बनाएर पठाए । स्थानिय स्तरमा उनको सक्रियता र परिचय मधेसको युवामा ‘नयाँ प्रकारको नेतृत्व’ रूपमा फैलिँदै गएको छ ।

स्थानीय चुनावपछिको परिस्थितिमा जैद औपचारिक रूपमा नेकपा एमालेमा प्रवेश गरेका थिए । रौतहट क्षेत्र नं. २ मा एमालेको संगठन विस्तार, कार्यकर्ता परिचालन, युवा राजनीतिलाई सशक्त बनाउने अभियानमा उनले उल्लेखनीय भूमिका खेले । पार्टीभित्र उनी ‘युवा, प्रतिबद्ध र जनमुखी’ नेताका रूपमा पहिचान बनाउँदै गए ।

२०७९ कै कठिन समयबीच जैदको भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भयो । ओलीले युवा उमेरमै जैदले पाएको जनसमर्थनलाई असाधारण बताए र उनलाई प्रदेशसभाबाट निर्वाचन लड्न आग्रह गरे ।

जैदले प्रस्ताव स्वीकारे र यही मोडबाट उनी मधेस राजनीतिमा निर्णायक रूपमा अगाडि बढे । २०७९ को प्रदेशसभा चुनावमा मोहम्मद जैद आलमले विशाल मतान्तरसहित विजय प्राप्त गर्दै रौतहटको राजनीतिक इतिहासमा नयाँ पाना लेखे।

नेपालकै कान्छा मन्त्री : युवाशक्तिको प्रतिनिधित्व

अहिले चलिरहेको जेनजीको चर्चा भन्दा ३ वर्ष अघिनै युवा पुस्ताको प्रतिनिधित्व गर्दै जैद आलम मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । उनी नेपालकै इतिहासमा सबैभन्दा कम उमेरमा मन्त्री बन्न सफल भएका युवा नेता हुन । हालै सम्पन्न एमाले महाधिवेशनमा उनी रौतहट क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

जनताको चाहना, संगठनको समर्थन र फैलिँदो लोकप्रियताका आधारमा महाधिवेशनबाट उनले महत्वपूर्ण पद प्राप्त गर्ने सम्भावना रहेको छ ।