रौतहट-२ मा कांग्रेसबाट उम्मेदवारका लागि डा. फिरदोस आलम सिफारिस

   २७ मंसिर २०८२, शुक्रबार १३:३९  

२६ मंसिर, रौतहट — प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले रौतहट क्षेत्र नम्बर २ बाट डा.फिरदोश आलमलाई उम्मेदवार रूपमा एकल सिफारिस गरेको छ । डा. फिरदोस पूर्वमन्त्री मोहम्मद आफताब आलमका छोरा हुन् ।

बिहीबार आयोजित क्षेत्रीय कार्यकर्ता भेलाले आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधि सभा निर्वाचनका लागि डा.फिरदोशको नाम सर्वसहमतिले सिफारिस गर्ने निर्णय गरेको हो ।

क्षेत्रीय सभापति शेख फैजुल्लाहले डा. फिरदोसको नाम एकल सिफारिस भएको जानकारी दिए । क्षेत्रीय सभापति फैजुल्लाहका अनुसार समानुपातिकतर्फ रामलोचन कलवार, रामचन्द्र गिरी, शेख रसिदअली, गृषनन्दन सिंह, शोभा कुमारी र खुसबुनेसा खातुनको नाम सर्बसम्मतबाट सिफारिस भएको छ ।

क्षेत्रीय भेलामा स्थानीय तहका पदाधिकारी, वडा प्रतिनिधि र क्षेत्रीय कार्यकर्ताहरुको उपस्थिति थियो । यो क्षेत्रमा पूर्वमन्त्री मोहम्मद आफताब आलमले जित्दै आएका थिए । आलमको तीन साताअघि मृत्यु भएको छ ।

चार निर्वाचन क्षेत्र रहेको रौतहटमा अन्य क्षेत्रमा भने सहमति हुन बाँकी छ । अन्य क्षेत्रहरूमा भेला भए पनि उम्मेदवारको नाम सर्वसम्मत हुन सकेको छैन ।