वृन्दावनमा १२ करोड ७८ लाखमा नाला सहितको कालोपत्रे सडक शिलान्यास
रौतहट, । रौतहट क्षेत्र नं. ४ का प्रदेश सांसद युवराज भट्टराई ‘समीर’ले बुधवार वृन्दावन नगरपालिकामा महत्वपूर्ण पूर्वाधार विकास परियोजनाको शिलान्यास गरेका छन्। मधेस प्रदेश सरकारको रु १२ करोड ७८ लाख लागतमा बन्ने नाला सहितको कालोपत्रे सडक निर्माण औपचारिक रूपमा सुरु भएको हो।
सडकले वृन्दावन नगरपालिकाका विश्रामपुर, बेनौली, नरकटिया र हर्दिया बस्तीहरूलाई आपसमा जोड्नेछ। शिलान्यास समारोहमा बोल्दै सांसद भट्टराईले सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले सुरक्षित, सरल र दिगो यातायात सुविधा पाउने विश्वास व्यक्त गरे। उनले वर्षौंदेखि समस्या बनेको जलजमाव नाला निर्माणसँगै समाधान हुने उल्लेख गरे।
समारोहमा पूर्व सांसद देवेन्द्र पटेल, वृन्दावन नगरपालिकाका पूर्व मेयर राम स्नेही यादव, मेयरका प्रत्याशी प्रेमशंकर यादव, समाजसेवी रामप्रसाद पटेल लगायत स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।






