मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलिया हाबी : सीके राउत

१३ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलिया हाबी भएको दाबी गरेका छन् । मधेशमा जनमतकै सतिशकुमार सिंह मुख्यमन्त्री छन् । तर, कांग्रेसबाट अर्थमन्त्री बनेका सुनिलकुमार यादवले मुख्यमन्त्रीलाई नै बाइपास गरेर बजेट ल्याएपछि जनमत रुष्ट छ ।
मधेशको बजेटबारे अध्यक्ष राउतले भनेका छन्, ‘मधेश प्रदेशको सबभन्दा ठुलो योजना के हो ? बिचौलियाले राखेको ९७ करोड ६० लाख (झन्डै १ अर्ब) जसको ग्राउन्डमा कुनै प्रभाव देखिँदैन, कतै कार्यान्वयन भएको देखिँदैन, बस मिलीजुली बाँडेर खाने ।’
त्यस्तै जनताले खोजेको २००० (१९६७ ) योजनाहरूमा नाम मात्रको ५-५ लाखका दरले छुट्ट्याइएको उनको भनाइ छ । उनले थपेका छन्, ‘अर्थात् बिचौलियाको एउटै योजना बराबर जनताका २००० योजना ! अनि मुख्यमन्त्री हामीलाई दिएको छ भने जहिले पनि जे पनि मानिदिनु पर्ने ? त्यस्तै मेडिकल माफियाहरूले ४-५ वटा शीर्षकमा झन्डै १ अर्ब छुट्ट्याइएको छ ।’
सिग्नेचर कार्यक्रमहरू मधेश विज्ञान केन्द्र र प्लेनेटेरियमको लागि ५ लाख, सामुदायिक समाजवाद भवनको लागि ५ लाख छुट्ट्याइएको उल्लेख गर्दै सबैले अहिले खोजिरहेको कमला पुलको लागि १ करोडमात्रै छुट्ट्याइएको राउतले बताएका छन् । जनमतले आफूहरूले सारेको गौरवको योजनामा बजेट नराखेको भन्दै असन्तुष्टि जनाइरहेको छ ।
त्यसैले मधेश सरकारको नेतृत्व छाड्ने र केन्द्रमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे पनि निर्णय गर्नको लागि आइतबार सचिवालय बैठक बोलाइएको छ । त्यसो त मधेशमा कांग्रेसले आफ्नै नेतृत्वको सरकार बनाउने गरी गृहकार्य अघि बढाइसकेको बताइन्छ ।