भारतमा आतंककारी हमला, नेपाली पनि मारिए

१० वैशाख, काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा नेपालीको समेत मृत्यु भएको छ ।
जम्मु कश्मीरको पहलगाममा आतङ्कवादी हमलाबाट मृत्यु भएका एक नेपालीकाे ठेगाना खुलेकाे छ । मृत्यु हुनेमा नेपालका सुदीप न्यौपाने रहेका छन् । उनी रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेकाे उल्लेख गरिएकाे छ । हमलामा परेर २६ जनाको ज्यान गएको थियो ।
त्यस्तै आतंकवादी हमलाबाट आक्रमणमा परी घाइते हुनेमा एक नेपाली पनि रहेकी छन् । घाइते हुनेमा नेपालकी रेनु पाण्डे पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
सञ्चारमाध्यमहरुले घाइते र मृतकको नाम सार्वजनिक गरेको लिस्टमा पाण्डेको नाम पनि उल्लेख रहेको छ । सञ्चारमाध्यमका अनुसार उनी घाइते भएकी छन् भने उनको अवस्था स्थिर रहेको छ ।
सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।
दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाएको छ ।
जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।
भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।
त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली प्रहार गरी हत्या गरिएको हो । आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।
दैनिक भाष्करका अनुसार मारिनेको संख्या २७ पुगेको छ । कतिपय मिडियाहरुले भने २६ जना मारिएको लेखेका छन् । यसअघि सन् २०१९ को फेब्रुअरीमा जम्मुकश्मिरकै पुलवामा भएको आतकंकारी आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए ।
मंगलबारको हमलापछि राजधानी दिल्ली र मुम्बईसहित भारतभर उच्च सतर्कता अपनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने यतिबेला साउदी अरब भ्रमणमा छन् । पर्यटकमाथि आतंकवादीले आक्रमण गरेको सूचना पाएपछि उनी भ्रमणका कार्यक्रम छोट्याएर स्वदेश फर्किन लागेको द हिन्दूले जनाएको छ ।