बदेल मार्न थापेको धरापमा पर्दा महिलाको मृत्यु
२२ चैत्र, रौतहट । खेतमा आउने जंगलि बदेल मार्न थापेको विद्युतिय धरापमा पर्दा रौतहटमा एक महिलाको ज्यान गएको छ ।
रौतहटको वृन्दावन नगरपालिका १ बलेरी खोरमा महिलाको विद्युतिय धरापमा पर्दा ज्यान गएको हो । स्थानिय सुशिल विश्वकर्माको मकै खेतमा जंगलि बदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवश्थामा सोही खेतको बाटो हुदै आउने क्रममा ४५ वर्षिया फुलमतिया देविको करेन्ट लागेर मृत्यु भएको थियो ।
बदेल मार्न थापेको धरापमा महिला मृत अवश्थामा भेटे पछि सुशिल विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट ४ किलोमिटर उतर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर लाश गाडेका थिए ।
“जंगल छेउमा बनाएको गोठबाट फर्कदै गरेकि फुलमतिया देविको विद्युतिय धराममा करेन्ट लागेर मृत्यु भएपछि दुवै जनाले जंगलमा गाडेका थिए ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले भने “चैत्र १४ गते हराएकि महिलाको शव १९ गते गाडिएको अवश्थामा फेला परेको हो ।”

प्रहरीले महिलाको खोजतलाश गर्ने क्रममा उनको घर नजिकै मकै बारीमा महिलाको चप्पल र बिजुलीको तार फेला परे पछि दुवैलाई पक्राउ गरेको उपरिक्षक घिमिरेले बताए ।
पक्राउ परेका दुवैलाई प्रारम्भीक अनुसन्धान पश्चात कर्तव्य ज्यान तर्फ थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक घिमिरेले बताए ।






