कोटेश्वरको भाटभटेनीमा लुटपाट, काठमाडौंमा राति १० बजेसम्म कर्फ्यू जारी

   १४ चैत्र २०८१, शुक्रबार १७:०४  

१५ चैत, काठमाडौं । प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् ।

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो ।

सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको सञ्चालकको गुनासो छ । ‘३ः५८ बजे आईजीपीलाई फोन गरियो । तर अहिलेसम्म कोही आइपुगेन,’ भाटभटेनी स्रोतले भन्यो ।

सो समूहले भाटभटेनी सुपरस्टोरको भवनका सिसा फुटाएको छ ।

सो समूहले तीनकुने नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ ।

आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली–गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन् । उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन् ।

काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू

काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर १० बजेसम्म भन्ने जानकारी दिएको छ ।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्काे आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।