महिला क्रिकेट कप्तानलाई प्रशिक्षकको जवाफ- घरमा सुतेर बस्ने, यहाँ आएर विदेशी कोच खोज्ने ?

   २३ माघ २०८१, बुधबार १२:३०  

माघ २३, काठमाडौं । नेपाली महिला राष्ट्रिय टीमले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजमा लगातार चार खेल हारेपछि प्रशिक्षक मनोज कटुवालले खेलाडीहरूमाथि दोष थोपरेका छन् । उनले खेलाडीहरूको फिटनेस र फिल्डिङको स्तरमा प्रश्न उठाए ।

हिजो थाइल्यान्डसँग हार व्यहोरेपछि नेपाल उपाधि होडबाट बाहिरिएको छ । त्यसलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा कटुवालले नेपालको खराव प्रदर्शनको मुख्य करण फिटनेस र फिल्डिङ भएको औँल्याए ।

उनले भने, ‘हारको प्रमुख कारण फिल्डिङ र फिटनेस नै हो । हामीले फिल्डिङमा धेरै त्रुटि गर्‍यौँ । महत्त्वपूर्ण क्याचहरू मिस भए । एक रनलाई चार रन दियौँ । ब्याटरहरुले रन लिन स्ट्रगल गरिरहेका छन् । ३ रन हुनुपर्नेमा दुई रन, दुई हुनुपर्नेमा एक रन मात्र आइरहेको छ ।’

नेपालकी कप्तान इन्दु बर्माले नेपाली टिममा सुधारका लागि विदेशी प्रशिक्षक ल्याउनुपर्ने बताएकी थिइन् । बर्माको उक्त भनाइलाई लिएर प्रशिक्षक कटुवालले कडा टिप्पणी गरे । यस्तै पाराले भगवान् पशुपतिनाथलाई ल्याएर पनि केही नहुने उनको दाबी थियो ।

विदेशी कोचको आवश्यकताका विषयमा कटुवाल भन्छन्, ‘अहिले नै विदेशी कोच खोज्ने भन्दा पनि खेलाडीले मिहिनेत गर्नुपर्‍यो । उनीहरूले क्याम्पको मात्र भर परेर हुँदैन । घर जाँदा पनि मिहिनेत गर्नुपर्‍यो । मिहिनेत गर्ने हो भने विदेशी होइन, स्वदेशी कोचले पनि हुन्छ । पहिले फिटनेस र फिल्डिङ सुधार्नुस् । विदेशी ल्याउँदैमा दुई–चार दिनमा फिटनेस सुध्रिँदैन । त्यो त भित्रबाट आउने कुरा हो । भित्रैबाट आउनु पर्‍यो । अन्डाबाट फुटाएर जबरजस्ती निकाल्न खोज्यो भने चल्ला मर्छ नि । चल्ला भित्रैबाट आफैँ फुटेर निस्किनुपर्छ । महिला क्रिकेटरको पनि भित्रैबाट आउनु पर्‍यो । घर गएपछि मिहिनेत नगर्ने, सुतेर खाएर बस्ने, अनि यहाँ आएपछि विदेशी कोच खोज्ने ? क्यानले यो दिएन भन्ने, क्यानबाट यो चाहियो भन्ने । त्यो त भएन नि । उनीहरूले पनि पर्फमेन्स दिनुपर्‍यो नि त । उनीहरूले पनि घर गएर मिहिनेत गर्नुपर्‍यो । फिटनेसमा ध्यान दिनुपर्‍यो । फिल्डिङ गर्नुपर्‍यो । ब्याटिङ र बलिङ गरेर मात्रै हुँदैन । यो कुरा उनीहरूले पनि बुझ्नुपर्छ । विदेशी कोच मात्र होइन, यस्तो पाराले त पशुपतिनाथलाई कोच बनाए पनि केही हुनेवाला छैन ।’

कटुवाललाई क्यानले गत वर्ष कात्तिकमा नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक नियुक्त गरेको थियो । उनको सम्झौता अवधि सकिन लागेको छ ।